असोज १, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्छ ।
यो निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगलाई म आग्रह गर्न चाहन्छु– निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्, आफ्नो स्वतन्त्र हैसियत र स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस् ।’ निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गर्दै उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । अब उपरान्त निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो । सरकारले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने हो, ‘हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्न पाउँदैन ।’