• २०८१ असार ३ गते आइतवार

आजदेखि दल दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ५, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता खुलाएको हो ।

आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । ती दलले चुनावका लागि छुट्टै दर्ता गर्नुपर्छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्ने हुन्छ । दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनुपर्ने हुन्छ ।

आयोगमा दलले आर्थिक वर्ष ०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष ०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा पहिलेको अलग वा एकीकृत दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ ।
यसअघिको स्थानीय निर्वाचनमा प्राप्त चुनाव चिह्नको सट्टा अर्को लिन चाहने दलले तीनवटा निर्वाचन चिह्न प्राथमिकता क्रमअनुसार उल्लेख गर्नुपर्ने हुन्छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमुनासमेत आयोगमा पेस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस