माघ ३, काठमाडौं। काठमाडौंमा १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको हो ।
आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौँ जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । काठमाडौँमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।