पौष १, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । टिप्पर धनी सहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए ।
टिप्परको ठक्करबाट घाइते भएका सविनको मङ्सिर २५ मा राति मृत्यु भएको थियो । बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिए पनि उनलाई चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
हत्या आरोपमा प्रहरीले टिप्पर धनी विमल बलामी र चालक शिव बलामीलाई पक्राउ गरेको छ । शिव बलामीले आफूलाई आर्थिक प्रलोभन देखाएर दुर्घटना हुँदा टिप्पर चलाएको स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । दुर्घटना हुँदा टिप्पर धनी विमलले नै टिप्पर चलाएको खुलेको अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक अधिकृतले बताए ।
शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले विमललाई पक्राउ गरेको थियो । विमलले शिवलाई आर्थिक प्रलोभन देखाएर दिएको साढे ३ लाखको चेक भेटिएको छ । मृतकका मामा श्याम गजुरेलले रातोपाटीसँग भने–‘सो चेक प्रहरीले बरामद गरेको छ ।’
मुद्दा दर्ता गर्न माग गर्दै स्थानियले बिहिबार प्रहरी बृत बालाजु अगाडी प्रदर्शन गरेका थिए । न्याय माग्दै प्रदर्शनमा गएका ग्रामीण आदर्शको बहुमुखी क्याम्पसका विद्यार्थी दिनेश थापालाई प्रहरीले निर्घात कुटपिट गरेको छ । बालाजु प्रहरीले नियन्त्रणमा लिएर उनलाई कुटेको मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले बताए । थापाको टाउकोमा ७ वटा टाँका लगाइएको छ ।
हत्यामा चिसापानी स्थित बालुवा डिपोका कामदार संलग्न देखिएपछि बालाजु वृत्तका डिएसपी रविन विष्टले मुद्दा दर्ता गर्न आनाकानी गरेको आरोप छ । विष्टबारे गुनासो प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेको छ ।
तिनपिप्लेबाट मङ्सिर २६ मा साँझ प्रदर्शनको क्रममा पक्राउ परेका एकजनालाई प्रहरीले छाडेको छ । अरूलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा थुनामा राखेको छ ।किटानी जाहेरी दर्ता भएसँगै पीडित परिवार शव पोस्टमार्टम गर्न सहमत भएका छन् ।