• २०८० फाल्गुन १२ गते शनिवार

स्थानीय तह निर्वाचनः ४ हजार मतदान केन्द्र थप हुँदै

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

चैत १, काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत बढेको भन्दै आयोगले मतदान स्थल र केन्द्रको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढाउने तयारी गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाताको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढेकाले मतदान स्थल र मतदान केन्द्रको संख्यासमेत थप हुने जानकारी दिएका हुन् । २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम गरिएको थियो । आयोगले यसपटक भने १० हजार ७ सय ५६ मतदान स्थल र मतदान केन्द्रको संख्या २२ हजार ५ सय पु-याउनेगरी तयारी अघि बढाएको हो । मतदान स्थलभित्रै मतदान केन्द्र कायम हुनेछन् ।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार मतदाता संख्या कायम थियो । यसपटक भने मतदाता संख्या १ करोड ७८ लाख पुग्ने आयोगको अनुमान छ । यो संख्या कायम भए अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा ३८ लाख मतदाता बढी हुनेछन् ।

आयोगका अनुसार एक मतदान केन्द्रमा १ हजारसम्म मतदातालाई मतदान गर्ने गरी व्यवस्था मिलाइन्छ । कुनै मतदान स्थलमा १ हजार बढी मतदाता रहेको भए सोही स्थलमा सामान्यतया प्रतिहजार मतदाताका लागि एक मतदान केन्द्रका दरले मतदान केन्द्र थप कायम गर्दै जाने तर एउटै मतदान स्थलमा सातवटा भन्दा बढी मतदान केन्द्र नहुनेगरी मतदान केन्द्र निर्धारण गरिने आयोगको भनाइ छ ।

आयोगले अहिले मतदाता नामावलीमा आएका दाबी विरोधका विषयमा परेका उजुरीमाथि चेकजाँच गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली १३ चैतमा सार्वजनिक गर्ने तयारी गर्दै छ ।

मतदाता नामावली सार्वजनिक भएलगत्तै १३ चैतमा नै आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गर्नेछ भने १४ चैतमा मतपत्रको मापदण्ड र ढाँचा तयार गरी छपाइका लागि स्वीकृति दिने आयोगको तयारी छ । १६ चैतदेखि २० वैशाखसम्ममा मतपत्र छपाइ गर्ने आयोगको कार्ययोजना छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । मतपत्रको ढुवानी भने २१ वैशाखपछि हुनेछ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति २९ चैतमा गर्ने छ भने ८ वैशाखमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन कार्ययोजनामा उल्लेख छ । सरकारले ३० वैशाखमा देशभर ७ सय ५३ वटै स्थानीय तहमा एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी मिति तय गरिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस