भदौ २८, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुबीच आज बिहान नौ बजे सङ्घीय संसद् भवनमा भेटवार्ताको कार्यक्रम तय भएको छ । यसैगरी सङ्घीय संसद् भवनमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
सङ्घीय संसद् भवनमा नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । यस्तै आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
नेपालको चार दिने भ्रमणका क्रममा अध्यक्ष ली हिजो अपराह्न यहाँ आइपुग्नुभएको हो । सभामुख सापकोटाको निमन्त्रणामा यहाँ आइपुग्नु भएका अध्यक्ष ली चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो तहका शीर्ष नेता हुनुहुन्छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि यहाँ आउने शीर्ष चिनियाँ नेतामध्ये उहाँ एक हुनुहुन्छ ।