फागुन १, काठमाडौँ । यात्रु लिएर काठमाडौंका लागि उडे पनि फर्काएर विराटनगर विमानस्थलमै ल्याइएको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको पुष्टि भएको छ। धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको थियो।
विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार लगभग साँझ ६:३० बजेतिर उडेको जहाज लाटोकोसेरो ठोक्किएपछि गन्तव्यसम्म पुग्न सकेन। लगभग ५ मिनेटजति उडेपछि पुनः फर्काएर चालक दलका सदस्यले जाहाजलाई सुरक्षित साथ अवतरण गराए। ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्यसहित ३३ जना रहेको खरेलले बताए। उनीहरु सबै सकुशल छन्। जहाजमा पनि ठूलो क्षति पुगेको देखिएको छैन। लाटोकोसेरो भने मरेको छ।
काठमाडौंबाट सोमबार आएर इन्जिनियरले समस्या पत्ता लगाएपछि आवश्यक मर्मत गरेरमात्रै जहाज पुनः सञ्चालन गरिने भएको छ। गुण एयरलाइन्सका स्टेशन मेनेजर धर्म गिरीले जहाजमा चरा ठोक्किएको पुष्टि गरे। तर आफू कार्यालयभन्दा बाहिर रहेकाले थप जानकारी नभएको उनले बताए। यति एयरलाइन्सले विगतमा सञ्चालन गरेको ‘जेड स्किम’ यो जहाजले दिनमा काठमाडौं-विराटनगर एउटा उडान भर्दै आएको छ।