फागुन १ काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग लगाउने सत्ता गठबन्धनको निर्णय चुनाव सार्ने षडयन्त्र हुनसक्ने टिप्पणी गरेका छन् ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालय दर्ता महाभियोग प्रस्तावमाथि टिप्पणी गर्दै उपमहासचिव रिमालले महाअभियोगको सिलसिलाको विजारोपण गरेर अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी भएको उल्लेख गरेका छन् ।यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षडयन्त्रको एउटा अंग हुनसक्ने उनको तर्क छ ।
रिमालले पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षका बीचको सम्बन्धमा रहेको तनाव शिथिल हुँदै गरेको अवस्थामा महाभियोगले फेरि तनाव बढाउने र तनावग्रस्त बनाएर वातावरण विथोल्ने षड्यन्त्र देखिएको आरोप लगाए । यो लोकतन्त्रका विरुद्ध धेरै गम्भीर षड्यन्त्र हो । अर्को भाषामा भन्दा यो गम्भीर षडयन्त्रको प्रकटीकरण हो, उनले भनेका छन् ।रिमालले सर्वोच्च अदालतलगायत राज्यका अंगहरूलाई आफ्नो स्वतन्त्र संवैधानिक भूमिकामा क्रियाशील हुन नदिने र चर्को दबाब तथा नियन्त्रणमा राख्न खोज्ने सत्ताधारीहरूको प्रयास भएको आरोप पनि लगाए ।परमादेश जारी गरेर असंवैधानिकरूपमा एमालेलाई सत्ताबाहिर पुर्याउँदा पनि अदालतप्रति यिनीहरू सन्तुष्ट हुन नसक्नु झनै गम्भीर कुरा हो। सर्वोच्च अदालत सिपाही हो र हामी सत्ताधारी आईजीपी हौं। हामीले भनेको सिपाहीले आदेश मान्नुपर्छ भन्ने मान्यता यसमा प्रकट भएको छ । यो धेरै गम्भीर कुरा हो, उनले भनेका छन् ।