• २०८० चैत्र १६ गते शुक्रवार

झापामा तोरीखेतीको आशलाग्दो विस्तार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन१,झापा। तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् ।

हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका थिए । तर पछिल्लो समय स्वस्थ र शुद्ध खानेतेलका लागि तोरीको प्रयोग बढेसँगै व्यावसायिकरूपमा तोरीखेती फस्टाएको हो । मेचीनगर–१४ का गोपाल तिसिम्नाले दुई वर्षदेखि आफ्नै चार बिघा जमिनमा व्यावसायिकरूपमा तोरीखेती गर्न थाल्नुभएको छ । त्यसअघि उहाँ पनि बजारबाट तेल किनेर भान्सामा प्रयोग गर्नुहुन्थ्यो । अहिले आफैँले खेती गर्न थालेपछि शुद्ध तेल खान पाएको र मनग्य आम्दानीसमेत हुन थालेको उहाँले बताउनुभयो ।

गत वर्ष तीन बिघामा तोरीखेती गर्नुभएका उहाँले यस वर्ष चार बिघा जमिनमा खेती विस्तार गर्नुभएको छ । यसपालि १० क्विन्टल तोरी उत्पादन हुने उहाँको अनुमान छ । उहाँले उत्पादन गरेको तोरीप्रति क्विन्टल रु १२ हजार ५०० का दरले बिक्री हुने गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा छ हजार हेक्टर क्षेत्रमा तोरीखेती हुँदै आएको बताउनुभयो । उहाँले विगत चार वर्षदेखि जिल्लामा तोरीखेतीमा किसानको आकर्षण बढ्न थालेको बताउनुभयो ।
“थोरै लगानीमा धेरै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “तोरी छरेपछि फुल्नु अघि एकपटक साग छाट्नुपर्छ, अरु केही नै गर्नुपर्दैन । थोरै लगानी, कम परिश्रम हुँदा किसान तोरीखेतीप्रति आकर्षित हुन थालेका हुन् ।” उहाँले बजारको समेत समस्या नभएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा पछिल्लो समय सहकारी संस्थाहरूले समेत तोरीखेती व्यावसायिकरूपमा गर्न थालेका छन् । उनीहरुलाई प्रोत्साहन गर्नका लागि कृषि ज्ञान केन्द्र झापाले तोरी ब्लक क्षेत्र नै घोषणा गरेको जनाएको छ ।

हल्दिबारी गाउँपालिकामा रहेको सहकारीलाई दुई वर्षसम्म रु २५ लाखको दरले अनुदानसमेत प्रदान गरेको केन्द्रले जनाएको छ । आव २०७५-७६ मा चार हजार हेक्टरमा हुँदै आएको तोरीखेती विस्तार भएर आव २०७६-७७ मा पाँच हजार हेक्टर पुगेको थियो । आव २०७७-७८ मा झन् बढेर पाँच हजार ३० हेक्टर र हाल छ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि अर्थविज्ञ भट्टराईको भनाइ छ । उहाँले तोरीमा झापालाई आत्मनिर्भर बनाउन सरकारले थप प्रोत्साहनका कार्यक्रम ल्याएर किसानलाई आकर्षित गर्न अझै आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस