फागुन १, काठमाडौं । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्स प्रालिका सात सञ्चालकलाई बयानका लागि बोलाएको छ । बयानका लागि बोलाइएका सातमध्ये तीन जना उपस्थित भएर बयान दिएका छन् । बाँकी चार जना भने अनुपस्थित भएका छन् ।
एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड रुपैयाँ बढीको कारोबार गरी झन्डै २५ करोड रुपैयाँ राजस्व छली गरेको आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । सो अनुसन्धानका क्रममा एकपछि अर्को गरी राजस्व छलीका प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयका अनुसन्धान अधिकृतहरूले भगवती लेमिनेट्सका सञ्चालकहरूलाई बयानका लागि बोलाएका हुन् ।
विभागको इटहरीस्थित कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार सात जनामध्ये तीन जनाको बयान लिइएको छ । बाँकी चार जना सञ्चालक अनुपस्थित भए पनि पुनः बयानका लागि बोलाइएको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुुसार अनुसन्धानका क्रममा भगवती लेमिनेट्स प्रालिका सञ्चालक रजनिस कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवालसँग बयान लिइएको हो । अनुसन्धान अधिकृतका अनुसार बयान लिएका तीनै जना सञ्चालकसँग उनीहरूका सबै बैंक खाता र स्टेटमेन्टहरू माग गरिएको छ । ‘बयानका क्रममा सबैको बैंक खाता र स्टेटमेन्ट माग गरेका छौं,’ एक अनुसन्धान अधिकृतले भने । अनुपस्थित भएका अन्य चार जना सञ्चालकलाई पनि बैंक खातासहित उपस्थित हुन पत्राचार गरिएको ती अनुसन्धान अधिकृतले जानकारी दिए ।
भगवती लेमिनेट्सका अर्का जिम्मेवार व्यक्ति विष्णु मधगोरियालाई भने बयानमा बोलाइएको छैन । राजस्व अनुसन्धान कार्यालयले बयानका लागि बोलाएर पनि नजाने सञ्चालकहरूमा निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्र अग्रवाल र बेनित अग्रवाल रहेका छन् । बयान दिएका सञ्चालक रजनिश कर्नानीले आफूहरूले केही कागजात पेस गरेको र केही भने पेस गर्न बाँकी रहेको बताए । फेरि थप कागजात मागेकाले आफूहरू कागजातसहित जाने उनले बताए ।
लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको र राजस्व छलीमा रेकर्ड कायम गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल (कच्चा बिल)मार्फत् एक वर्षमा ८० करोड बढीको कारोबार गरेको प्रमाण फेला परेका छन् । भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७/७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको थियो । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ । सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।
करोडौं राजस्व छली गरेको प्रारम्भिक आधार फेला परेपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स प्रालिको मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालयमा छापा मारी राजस्व छलीसम्बन्धी कागजात नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । भगवती लेमिनेट्सले कच्चा बिलमार्फत कारोबार गर्दा भुक्तानी लिने क्रममा कम्पनीका कन्ट्री म्यानेजर विकास सिंहको नाममा चेक काट्न लगाउने गरेको छ । सिंहको नाममा करोडाैं रुपैयाँको चेक काटिएको छ । सो लेमिनेट्सले ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि प्रयोग गर्दै आइरहेको छ ।
विकास सिंहको नाममा करोडौंको चेक
भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिंहको नाममा करोडांैको चेक काट्ने गरेको भेटिएको छ । सो लेमिनेट्सले राजस्व छल्ने उद्देश्यले कारोबार गरिएका डिलरलाई संस्थाको नाममा नभई कन्ट्री म्यानेजर सिंहको नाममा चेक काट्न लगाउने गरेका छन् । भगवती लेमिनेट्सको ट्याक्स प्लानिङ नीतिअनुसार सिंहको व्यक्तिगत नाममा चेक काट्ने गरिएको हो ।
त्यसरी विभिन्न डिलरहरूले भुक्तानीका क्रममा भगवती लेमिनेट्सका नाममा चेक नकाटी सिंहको नाममा काट्ने गरेका कैयौं चेकको विवरण नै सार्वजनिक भइसकेको छ । सिंहको नाममा करोडाैंको चेक काटिएकाले राजस्व अनुसन्धान विभागले सिंहको सबै बैंक खाताको समेत अनुसन्धान गर्नुपर्ने देखिएको छ । राजस्व छलीका डिजाइनरमध्येका एक सिंहलाई भने राजस्व अनुसन्धान कार्यालयले बयानका लागि बोलाएको छैन । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।