कार्तिक २५,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने बताएका छन् ।
आज बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरि नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको बताए । विकास र समृद्धिका लागि आगामी मंसिर–४ को निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठुलो दल बनाउने पौडेलले बताए । उनले भने, ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौँ । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाति, भाषभाषीका जनतालाई सम्मान रूपले हामीले हेर्ने छौँ, ‘कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो ।’
बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक सहरको रुपमा विकसित गर्ने बताउदै उनले भने, ‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरू जोड्ने सडकलाई कालोपत्रे गरिने छ । मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरू अघि बढाइने छ, ‘बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।’