• २०८१ साउन ८ गते मङ्गलवार

मकवानपुर गोल्डकप : रोमाञ्चक खेलमा आर्मी फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २८, हेटौंडा। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४/१४ प्रहार भएको थियो । आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्रै गोल भयो । अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो । खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातीमै आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेन्जनले गोल गरेका हुन् ।

खेलको अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बाँकी रहँदा एभिनियरका डिजिकाले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय यूथसँग प्रतिस्पर्धा गर्नेछ । विजय यूथले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेन्जन भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस