• २०८१ मङ्सिर २३ गते आइतवार

अर्थमन्त्री शर्माको धानुक मोह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २८, काठमाडौं। विवादास्पद छवि र वरीयता क्रममा निकै पछाडि रहेका नेपाल प्रहरीका नायब महानिरीक्षक डीआईजी रवीन्द्र धानुकलाई दरबन्दी थप गरेर अतिरिक्त महानिरीक्षक एआईजी बनाउन सरकारले तयारी थालेसँगै त्यसले सत्तारूढ गठबन्धनमा तरंग छाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँड र अर्थमन्त्री जनार्दन शर्मा धानुकलाई एआईजी बनाउन सहमत भएको सूचना चुहिएपछि संघीय र लुम्बिनी प्रदेशका सत्तारूढ दलका सांसद उनको विपक्षमा उभिएका छन् ।उनीहरूले गृहमन्त्री खाँडसमक्ष धानुकलाई कुनै पनि हालतमा एआईजी नबनाउन पनि आग्रह गरेका छन् । आफूहरूको माग सुनुवाइ नभए प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराउने उनीहरूको तयारी छ । नेपाल प्रहरीमा अहिले एआईजीको दरबन्दी पाँचवटा छ । त्यसमा तीनवटा थप्ने र थपिने दरबन्दीमा वरीयतामा निकै पछाडि रहेका धानुकको नाममा ‘लालमोहर’ नै लागिसकेको चर्चा छ । गृह मन्त्रालयले तीन एआईजी दरबन्दी थपका लागि अर्थ मन्त्रालयको स्वीकृति मागेको थियो । तर, पूर्वगृहमन्त्री एवं बहालवाला अर्थमन्त्री शर्माले लामो समयसम्म स्वीकृति दिएका थिएनन् । बरु उनले आफूले अघि सारेका डीआईजी धानुकलाई एआईजी बनाउने भए मात्रै दरबन्दी थपका लागि स्वीकृति दिने सर्त राखेका थिए ।

यसमा गृहमन्त्री खाँड सहमत भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीतर्फ तीन जना एआईजी थप गर्नेसम्बन्धी प्रस्ताव पेस भएको हो । आगामी मन्त्रिपरिषद् बैठकबाट यो विषयमा निर्णय लिइने तयारी छ । नेपाल प्रहरीमा उच्चपदस्थ पदमा आफूखुसी दरबन्दी थप्नु र घटाउनुलाई सामान्य नै मानिन्छ । यसअघि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीको दरबन्दी घटाएर तीनमा झारेको थियो । तर, पछि फेरि एक-एक गर्दै बढाएर पाँच पु(याएको थियो । थपिएको दुईवटा दरबन्दीमा विश्वराज पोखरेल र सहदेव थापा बढुवा भइसकेका छन् । यी दुईमध्येबाट एक जना १९ वैशाखमा प्रहरी नेतृत्वमा पुग्नेछन् ।

अहिले थप्न लागिएको एआईजीको तीन दरबन्दीमा जसरी पनि बढुवा गर्नैपर्ने नाममा परेका धानुक १० डीआईजी बढुवा हुँदा आठौं नम्बरमा परेका थिए । त्यतिबेला घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी एकसाथ बढुवा भएका थिए । अर्याल, पन्त र कार्कीद्वय वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीकै ब्याची हुन् । उनीहरू सबै जना आगामी १८ वैशाखमा ३० बर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन् । वरीयतामा यी चार जना अघि हुँदाहुँदै तत्कालीन ओली सरकारले थापालाई एआईजी बनाएको थियो ।

सरकारले पछिल्लो समयमा थप्न लागेको तीन पदमा अघिल्लो वरीयताका चार र पछिल्लो वरीयतामा रहेका पाँच जनाकै दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस