पुस २२, काठमाडौं । प्रहरीले मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट १ सय ८३ किलो अवैध लागूऔषध गाँजा सहित थाहा नगरपालिका-२ बस्ने ३० वर्षीय रामचन्द्र सिङतानलाई सोमबार साँझ पक्राउ गरेको छ । प्रदेश ३-०१-०२२ च ३५५६ नम्बरको पिकअप गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा गाडीमा पोका बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पिकअप चालक रामचन्द्रलाई पक्राउ गरेको हो ।
यस्तै बाग्लुङ, गल्कोट नगरपालिका-५ हटिया चोकबाट करिब २३ किलो अवैध लागूऔषध गाँजा सहित वडिगाड गाउँपालिका-८ खोलाखर्क बस्ने २७ वर्षीय प्रकाश पाईजालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङ र ईलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरि स्याङजा, फेदीखोला गाउँपालिका-४ सर्केटारीबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-१ आरुखर्क बस्ने काभ्रे बन्थली घर भएकी ४३ वर्षीया लक्ष्मी पहारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै कास्की, पोखरा महानगरपालिका-२२ जामुने डाँडाबाट नियन्त्रित लागूऔषध १ सय ७१ एम्पुल बुप्रिनर्फिन, १ सय ७१ एम्पुल डाइजेपाम र १ सय ७१ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार घर बताउने २१ वर्षीय धर्मेन्द्र कुमार र रुपन्देही मर्चवारी गाउँपालिका- ५ मजगावा घर भएका २० वर्षीय अविनाश यादव रहेका छन् । पोखरातर्फ आउँदै गरेको लु.३३ प ९३४३ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा मोटरसाइकलमा सवार धर्मेन्द्रको साथबाट उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अविनाश समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।