• २०८१ मङ्सिर २३ गते आइतवार

गठबन्धन अलमलमा, एमाले उम्मेदवार छनोटमा

पत्रपत्रिका पढ्न लाग्ने समय : ५ मिनेट

चैत २७, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् । एमालेले वडातहदेखि नै उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ । सत्तारूढ दलबीच गठबन्धनको अन्योलताले उम्मेदवार छनोट प्रक्रिया नै अलमलमा परेको छ ।

सत्तारूढ दलबीच गठबन्धनबारे केन्द्रीय तहमा निर्णय नहुँदा जिल्लामा दलहरू अनिर्णीत भएका छन् । उनीहरूले उम्मेदवार छनोटको प्रारम्भिक कार्य पनि सुरु गर्न सकेका छैनन् । वाग्मती प्रदेशमा पर्ने काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा एमालेले उम्मेदवारको छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । तर सत्तारूढ दलको गठबन्धन अलमलमा नै छ ।

काभ्रेमा स्थानीय तह निर्वाचनमा सत्तारूढ दलबीच गठबन्धनबारे केन्द्रीय तहमा निर्णय नहुँदा जिल्लामा दलहरू अनिर्णीत भएका छन् । स्थानीय तह निर्वाचन मिति नजिकिँदै उम्मेदवारबारे छलफल तीव्र पारेका प्रमुख दलले निर्णय गर्न नसकेका हुन् । कांग्रेसले उम्मेदवार तत्काल नटुंग्याउन निर्देशन दिएको छ । ‘केही वडामा सर्वसम्मत रूपमा अध्यक्ष उम्मेदवार निर्णय भएको छ,’ जिल्ला सभापति तीर्थ लामाले भने, ‘केन्द्रले तत्काल निर्णय नगर्न भनेको छ, गठबन्धनबारे टुंगो लागेपछि आएको निर्देशनअनुसार जान्छौं ।’ कांग्रेसले चैत २५ सम्म जिल्ला कार्यसमितिमा सिफारिस गर्न भनेको थियो ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका संयोजक भोला अर्यालले केही दिनमा उम्मेदवारीबारे टुंगो लाग्ने बताए । अर्यालले भने, ‘गठबन्धनको कुरा पनि छ, एक्लै तयारी पनि गरिरहेका छौं, केन्द्रले के निर्णय गर्छ, सोहीअनुसार अघि बढ्छौं ।’ एकीकृत समाजवादीका जिल्ला सचिव दीपक गौतमले पनि गठबन्धनबारे निर्णय पर्खिरहेको बताए । समाजवादीले चैत २२ सम्म वडातहमा उम्मेदवार सिफारिस गर्न भनेको थियो । सत्ता साझेदार जनता समाजवादीले पनि केही स्थानीय तह र वडामा उम्मेदवार सिफारिस गरे पनि गठबन्धनका आधारमा छलफल अघि बढाएको छ ।

एमालेले पनि उम्मेदवार टुंग्याउने मिति पर सारेको छ । गठबन्धनको निर्णय आधारमा अघि बढ्ने रणनीतिमा रहेको एमालले चैत २६ सम्म उम्मेदवार टुंग्याउन भनेको छ । एमालेले ११ वडामा सर्वसम्मत अध्यक्षका उम्मेदवार टुंग्याएको छ । दोलखाको सबैभन्दा ठूलो भीमेश्वर नगरपालिकामा दलहरू वडा टोलसम्मै भेला, बैठक गरिरहेका छन् । गएको निर्वाचनमा कांग्रेस( माओवादी गठबन्धन भएर चुनावी मैदानमा उत्रँदा पनि आफ्नो गढ मानेको भीमेश्वर जोगाउन एमाले सफल भएको थियो । तर अहिले यो नगरका लागि पाँचदलीय गठबन्धनले एमालेको गढ भत्काउने गरी चुनावी रणनीति बनाइरहेका छन् । खासगरी भीमेश्वरमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन हुने लगभग पक्कापक्की भइसकेको छ । तर गठबन्धनको मोडालिटी भने अझैसम्म तय भैसकेको छैन । भीमेश्वर प्रमुखमा नेपाली कांग्रेसबाट ईश्वर मानन्धरले उम्मेदवारी दिने लगभग निश्चित हुँदा उप(प्रमुख र वडासम्मै गठबन्धनको खाका तयारी सुरु भएको कांग्रेसका जिल्ला कार्यसमितिका सदस्य तथा नगरका नेता रामजी चौलागार्इंले बताए । ‘भीमेश्वरमा चुनावी गठबन्धन हुने सहमति भइसकेको छ’, उनले भने, ‘कांग्रेसले प्रमुख पाउने निश्चित भैसकेकाले वडासम्मै सिट बाँडफाँटको खाका तयार पार्ने गरी छलफल भैरहेको छ । उनका अनुसार गठबन्धनका दलको मतका आधारमा सिट बाँडफाँट हुनेगरी सहमति भएको छ ।

भीमेश्वरमा एकीकृत समाजवादीले उपप्रमुख दाबी गरेको कांग्रेसका एक नेता बताए । यस्तोमा माओवादीसँग अघिल्लो चुनावमा भएको गठबन्धनका आधारमा उसले पनि उपप्रमुख दाबी गर्ने तयारी गरेको ती नेताले कान्तिपुरसँग भने । नगरमा गठबन्धनका विषयमा बैठक भैरहेको माओवादी नेता गोपाल पाण्डेले बताए । ‘गठबन्धन गरेर जाने विषयमा मोटामोटी सहमति भैसकेको छ,’ उनले भने, ‘उम्मेदवारीका विषयमा अहिले हामीले कुनै विषय गठबन्धनमा राखेका छैनौं ।’ भीमेश्वरमा नेकपा एकीकृत समाजवादीले उपप्रमुखसँगै केही वडामा दाबी गरेको जिल्ला अध्यक्ष भीमप्रसाद दाहालले बताए । भीमेश्वरमा गठबन्धन भएरै आए पनि आफ्नो जनमत बलियो भएको निष्कर्षसहित चुनावी अभियानमा लागेको छ एमाले । भीमेश्वरमा एमालेका मुख्यगरी दुई जना आकांक्षी टिकटका दाबेदार छन् । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेर जिल्ला उपाध्यक्ष भएका राजेन्द्र मानन्धर र हालका भीमेश्वरका प्रमुख भरतबहादुर केसी मुख्य दाबेदारका रूपमा छन् । यसैबीच निर्वाचन नजिकिँदै गर्दा सिन्धुलीको दुई स्थानीय तहमा सत्तारूढ दलहरूबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकामा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । ती स्थानीय तहमा गठनबन्धन भर्सेस एमालेको प्रतिस्पर्धा हुने मतदाताले बताएका छन् । २०७४ को स्थानीय निर्वाचनमा यी दुई पालिकामा एमाले, कांग्रेस र माओवादीबीच कडा प्रतिस्पर्धा भएको थियो ।
पालिकास्तरमा गठबन्धन भए पनि वडास्तरमा भने धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । सत्तारूढ दलबीच तालमेलको तयारी भइरहेका बेला एमालेले भने सबै पालिकामा वडा अध्यक्षहरूको उमेदवार टुंगो लगाउने क्रममा रहेको प्रचार विभाग प्रमुख सन्जय दाहालले बताए ।

यस्तै मकवानपुरका राजनीतिक दल उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा छन् । नेकपा एमालेले केन्द्रीय निर्देशनअनुसार वडा तहका आकांक्षीको नामावली संकलन गरेको छ भने सत्तागठबन्धनमा रहेका दलहरू केन्द्रीय निर्देशन कुरेर बसिरहेका छन् । एमालेले वडा तहको प्रारम्भिक सिफारिस जिल्ला तहलाई गरेको र अधिकांश वडामा सर्वसम्म रूपमा उम्मेदवार टुंगिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । ‘केही वडाबाट तीनजनाको दरले अध्यक्षको नाम सिफारिस भएर आएको छ । हामी चैत २९ भित्र वडा र गाउँपालिका तहको उम्मेदवार टुंग्याउनेछौं’ उनका अनुसार नगर र उपमहानगरको उम्मेदवार प्रदेश कमिटीले वैशाख पहिलो हप्ताभित्र टुंग्याउने सम्भावना रहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाको १० मध्ये ६ स्थानमा एमाले विजयी भएको थियो ।

केन्द्रीय निर्देशनअनुसार सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चाको वैठक बसेपनि उम्मेदवारको विषय अझै टुंगिएको छैन । ‘गठबन्धनको मोडालिटी क्लिएर भएपछि सोहीअनुसार निर्णय हुनेछ’, कांग्रेस जिल्ला सभापति तथा गठबन्धन संयोजक बुद्ध लामाका अनुसार वडा तहबाटै तालमेल गरेर अगाडि बढ्ने सहमति भएको छ । सिन्धुपाल्चोकमा स्थानीय तहको चुनावी सरगर्मीलाई केन्द्रमा राखेर मुख्य राजनीतिक दलले आन्तरिक छलफलसहित अन्य तैयारीमा कस्सिएका देखिन्छन् । सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी अभियानलाई गाउँ टोल लक्षित बनाउनमा व्यस्त छन् । नेकपा एमालले जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर निर्विरोध उम्मेदवार चयनलाई आइतबारसम्म सकिसक्ने लक्ष्यका साथ आन्तरिक छलफल गरिरहेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष कमल नेपालका अनुसार स्थानीय निर्वाचन लक्षित वडा तहमा वडाअध्यक्ष, सदस्यका उम्मेदवार झन्डै अन्तिम टुंग्याउने गरी एक सय ३ वडाभर बिहीबार छलफल भइरहेको छ । ‘हेलम्बुमा ६ वडामा निर्विरोध उम्मेदवार चयन भएका छन्, यीबाहेक भोटेकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोसी, बलेफी, पाँचपोखरी थाङपालसहित अन्य गापामा केही वडाका उम्मेदवार छानिए, अन्यबारे मिटिङ हुँदै छ,’ नेपालले भने ।

कांग्रेस र माओवादी केन्द्रले केन्द्रीय तहमा गठबन्धनको निर्णय गरिसकेका छन्, तर जिल्ला तहमा गठबन्धन गरेर जानेबारे खासै ठोस काम भने केही भएको छैन । चुनावी गठबन्धनबारे गत हप्ता माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पहिलो पटक सामान्य छलफल भएको थियो । कांग्र्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका एक पटक अनौपचारिक बैठक भए पनि खासै केही निर्णय भएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस