माध २७ काठमाडौँ। काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि महानगरको मेयरमा आफ्नो दाबेदारी रहने बताउनु भएको छ ।काठमाण्डौ महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलमा रहेको श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।
उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताउनु भयो । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै ठाउँमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनुभयो ।मेयर शाक्यले भन्नुभयो, ‘म एउटा पार्टीको कार्यकर्ता हुँ । पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । साथै महानगरवासीको चाहना के छ त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । पार्टीले जसलाई जिम्मा दिए पनि काठमाण्डौ महानगरपालिकामा हामी जित्ने गरेर तयारी अवस्थामा छौँ ।’
मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, सम्वर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनुभयो । उहाँले महानगरको नीति अनुसार आउँदो दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताउनुभयो ।मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा महानगर काठमाण्डौको विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले रानीपोखरीको केही काम बाँकी रहेकाले काम सम्पन्न हुनासाथ नागरिकका लागि खुला गर्ने पनि बताउनु भयो ।