• २०८१ असोज २२ गते मङ्गलवार

गडहरे गुफाको भूभौतिकी सर्भे गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २६,स्याङ्जा ।स्याङ्जाको भीरकोट नगरपालिका ८ र ९ को सीमामा अवस्थित गडहरे गुफाको दोस्रो चरणको भूभौतिकी सर्भे गरिने भएको छ । प्रचारप्रसारको अभावमा ओझेलमा रहेको गडहरे गुफाको विकासका लागि यसअघि गरिएको भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएसँगै अब दोस्रो चरणको भूभौतिकी सर्भे गरिने भएको हो ।

भीरकोट नगरपालिकाको पहल र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेल नेतृत्वको भूगर्भविद् तथा सहायक भूगर्भविद गरी १२ जनाको टोलीले छ दिन लगाएर गत भदौमा भौगर्भिक अध्ययन गरेको थियो ।
“गुफा धेरै लामो जस्तो देखिन्छ, हामीले ६८० मिटर भित्रसम्मको प्रत्येक १०–१० मिटरको विवरण लिएका छौं”, उपप्रध्यापक पौडेलले भन्नुभयो,“त्यहाँभन्दा भित्र छिर्न सकिने अवस्था देखिएन तर त्यहाँभन्दा अझै भित्रसम्म पनि गुफा फैलिएको हुन सक्छ ।”

गुफाभित्र ६८० मिटर भन्दा भित्र छिर्न नसिएकाले त्यहाँभन्दा अझै भित्रको अवस्थाकाबारेमा अध्ययन गर्नका लागि छुट्टै विधि ‘भूभौतिकी सर्भे’ गर्नुपर्ने देखिएको छ ।“भूभौतिकी सर्भेले गुफाभित्रको तीनवटा विषयको अध्ययन गर्न सकिन्छ”, उपप्राध्यापक पौडेलले भन्नुभयो, “जमिनबाट करेन्ट पठाएर गरिने यो सर्भेले त्यहाँभन्दा अगाडि गुफा भए नभएको, गुफा र जमिनको बीचमा अर्को गुफा भए नभएको र भूइँभन्दा तल अर्को गुफा भए नभएको पत्ता लाग्ने छ ।”

दोस्रो चरणको सर्भेका लागि नगरपालिकालाई जानकारी गराईएको र नगरपालिका सकारात्मक रहेको उपप्राध्यापक पौडेलले बताउनुभयो । पहिलो चरणको भौगर्भिक अध्ययनपश्चात गुफाको बाहिरी तथा भित्री भूवनोट, गुफाभित्रका विभिन्न आकृति, ढङ्गा खस्न सक्ने जोखिम भए नभएको, गुफाको बाहिरी भित्री संरचनाकाबारेमा प्रतिवेदन तयार पारेर सार्वजनिक गरिएको थियो ।

गुफाभित्र विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएका छन् । “कुनै ठाउँमा फराकिलो कुनै ठाउँमा साँघुरो बाटो हुँदै झण्डै एक किलोमिटरभित्र पुगिसकेपछि एउटा नयाँ किसिमको झरना देखिन्छ”, उपप्राध्यापक पौडेलले भन्नुभयो,“उक्त झरना त्यही गुफाभित्रै हराएको छ, यो पनि एउटा आकर्षणको रुपमा रहेको छ ।”

अध्ययन टोलीले गुफाको भित्री, बाहिरी बनोट, भित्र देखिने विभिन्न किसिमका आकृति तथा संरचना, गुफाको लम्बाई, चौडाइ मापन गरेको थियो । गुफाभित्र र बाहिरको सम्बन्धित विषयमा भौगर्भिक अध्ययन सकिएसँगै प्राप्त भएको प्रतिवेदनबाट प्राप्त सुझावलाई नगरपालिकाको तर्फबाट कार्यान्वयनमा लगिने भीरकोटका नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

“नगरपालिकाले गुफाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिसकेको छ”, नगर प्रमुख खनालले भन्नुभयो, “अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा दोस्रो चरणको सर्भे माघ महिनाभित्रै गरेर यसलाई अन्तिम चरणमा पु¥याउने छौं ।”

धार्मीक एवं पर्यटकीय दृष्टिले प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुफाको प्रचार प्रसारसँगसँगै पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रकोरुपमा पहिचान दिने गरी अगाडि बढ्ने भीरकोट ९ का वडाध्यक्ष भीमबहादुर गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस