• २०७९ असोज ९ गते आइतवार

उत्कृट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २४, खोटाङ  ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसईईमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने एकजना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसईईका उत्कृष्ट एक जना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएका हुन् । गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्था सहित छात्रबृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक वटा आवासीय विद्यालय सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेसनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । शुभम् फाउण्डेसनले विद्यार्थीलाई ‘गरि खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘दिप्रुङ चुईचुम्माको आव्हान, गुणस्तरीय शिक्षाको अभियान’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । हाजिरी जवाफ, निवन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस