• २०८१ जेष्ठ ३१ गते बिहिवार

अहिले काँग्रेसको दाँत मात्रै झरेको होइन, रुखै सुकिसकेको छ : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाउनुभएको छ । मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो । चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन । काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन । काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’

आफू प्रधानमन्त्री हुँदा दशकौँसम्म बन्न नसकेको काम भएको दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ । अलिअलि कमिसन खाएर देशलाई गरिब बनाइराख्नेहरू एमालेबाट आत्तिए । संसद् चल्न नदिने, संसद्लाई अगाडि बढ्न नदिने, संसद्लाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौँ । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि, आफ्नै पार्टीका सांसदहरू बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद् विघटन गर्नु हाम्रो बाध्यता थियो ।’

उक्त कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायत हजारौं नेता तथा कार्यकर्ताहरु एमालेमा अध्यक्ष ओलीले खादा तथा अविर लगाई प्रवेश गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस