माघ २६, काठमाडौं । आज बिहानैदेखि संसद भवनअगाडिदेखि माइतीघरसम्म सुरक्षा निगरानी बढाइएको छ । एमसीसी सम्झौताविरुद्धको प्रदर्शनलाई ध्यान दिँदै सुरक्षाकर्मी परिचालन गरिएको हो ।
एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो प्रदर्शन तय गरेका हुन् ।
आज बोलाइएको संसद बैठक पनि स्थगित गरिसकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्न भनिरहेपनि सभामुख सापकोटा भने माहोल राम्रो नभएको भन्दै मानिरहेका छैनन् ।