• २०८१ असोज २० गते आइतवार

कमल थापाद्धारा नयाँ पार्टी निर्माण

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

माघ २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेसँगै कमल थापाले नयाँ पार्टी निर्माणको गृहकार्यलाई तिव्रता दिएका छन् । सबै तयारी पूरा गरेर यसै साता दल दर्ता गर्ने उनको योजना छ । स्रोतका अनुसार थापाले पार्टीको नामलगायतका विषयमा आज आफू निकटस्थहरुसँग छलफल गर्दैछन् । अहिलेसम्म प्रस्तावित विभिन्न नाममध्ये ‘राष्ट्रिय एकता पार्टी’ रोज्न सक्ने प्रवल सम्भावना रहेको स्रोतले बतायो ।

थापा पक्षधर नेता राजाराम श्रेष्ठले भने पार्टीको नामबारे भर्खर छलफल सुरू भएको बताए ।‘उहाँले नामबारे सुझाव दिन सबैलाई भन्नुभएको छ, यो विषयमा आज विस्तृत छलफल हुन्छ,’ उनले भने ।

थापाले गठन गर्ने पार्टीको मुल नीति संवर्द्धनवाद तथा मुख्य कार्यनीति ‘हिन्दू राष्ट्रको पुनस्स्थापना’ हुनेछ । सैद्धान्तिकरूपमा आफूलाई राजसंस्था पक्षधर नै बताए पनि राजतन्त्रको पुनस्स्थापनाको एजेन्डालाई उनको पार्टीले बोक्ने छैन ।

नयाँ पार्टीको नेतृत्व आफैं गर्ने वा अरु कसैलाई अघि सार्ने भन्नेमा पनि थापा अहिलेसम्म द्विविधामा छन् । ‘विगतमा गीता छोएर पार्टी विभाजन नगर्ने कसम खाएको हुँदा उहाँ सकभर अरु कसैलाई नेतृत्वमा अघि सार्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो ।

थापा राप्रपाका केही पुराना नेताहरूसँग सम्वादमा छन् । जसमध्ये पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले आफूलाई साथ दिने झिनो आशा उनको छ । नयाँ पार्टीको अध्यक्ष राणालाई नै बनाउन पनि उनी तत्पर रहेको स्रोतले बतायो । नेता बर्तौलाले नेतृत्व कसले गर्ने भन्ने विषयमा विकल्प खुल्ला राखिएको भए पनि थापा आफैं अध्यक्ष बन्ने सम्भावना बढी रहेको बताए ।

थापाको पार्टीमा राप्रपाको नेतृत्वमा रहेकाहरू न्यून संख्यामा आउने देखिएको छ । महाधिवेशनबाट थापा पक्षधर नेताहरू उल्लेख्य संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीमा निर्वाचित भएका थिए । तर, नयाँ पार्टी गठनमा उनीहरुको साथ मिल्ने आशा थापा स्वयंले राखेका छैनन् । अहिलेसम्म पदाधिकारी कोही पनि थापाको पक्षमा खुलेका छैनन् भने केन्द्रीय सदस्य पनि थोरै संख्यामा उनीतिर छन् ।

अस्ति थापाले बोलाएको भेलामा चार पदाधिकारीसहित केन्द्रीय समितिका ६० जना उपस्थित भएको बताइएको थियो । तर, उनीहरूमध्ये अधिकांश राप्रपा छोडेर थापाको नयाँ पार्टीमा जाने सम्भावना न्यून छ । थापा स्वयम्ले भेलामा कसैलाई करकाप नगर्ने बताएका थिए । ‘तपाईंहरू आफ्नो अन्तरआत्मालाई सुनेर आफैं निर्णय लिन सक्नुहुन्छ, म कसैलाई करकाप गर्दिन,’ थापाले भनेका थिए ।

राप्रपा महाधिवेशनमा पराजयपछि असन्तुष्ट बनेका थापाले निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् । यस विषयमा छानबिन गर्न उनले पार्टीको नेतृत्वलाई दबाब दिएका थिए । तर, थापा पक्षकै नेताहरूले पनि उनको मागमा त्यति चासो दिएका थिएनन् ।

थापाले बहिर्गमनको तयारी गरेपछि हिजो राप्रपाले पदाधिकारीको वैठक बसेर उनको मागलाई कुनै तरिकाले सम्बोधन गर्ने तयारी गरेको थियो । तर, पार्टीको निर्णय नपर्खी थापाले विज्ञप्ति जारी गरे । स्रोतका अनुसार उनी राप्रपा छोड्नेमा पहिल्यै प्रतिबद्ध थिए ।

‘राजतन्त्रको एजेन्डा बोकेर राजनीति नगर्ने निष्कर्षमा पुग्नुभएकाले राप्रपा छोड्नुभएको हो,’ स्रोतले भन्यो, ‘महाधिवेशनमा पराजयपछि नै उहाँले नयाँ पार्टी बनाएर अगाडि बढ्ने निधो गरिसक्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस