पुस २५, दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ गेउरियामा निर्माण भएको प्रदेशस्तरीय आयुर्वेर्दिक औषधालय (अस्पताल) को अवलोकन गर्नुभएको छ । उहाँले औषधालयको आज स्थलगत अवलोकन गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त औषधालयको अवलोकन निरीक्षण गरी त्यसलाई चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने उहाँले जानकारी दिनुभयो ।
स्थानीयवासीले करिब एक बिघा बढी निःशुल्क उपलब्ध गराएको जमिनमा तीनतले सुविधासम्पन्न आयुर्वेदिक औषधालय निर्माण भएको हो । आयुर्वेदिक अस्पतालको संरचना बने पनि सञ्चालनका लागि अझैसम्म सञ्चालनमा आउन सकेको छैन । सो अस्पताल चाँडै सञ्चालन गर्ने व्यवस्था मिलाई दिन गाउँपालिकाले सङ्घीय तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ ।
यसैगरी, पालिकाकी अध्यक्ष मेनुका काफ्लेले यस आयुर्वेदिक अस्पताललाई छिटोभन्दा छिटो सञ्चालनको व्यवस्था मिलाई दिन ओलीसँग आग्रह गर्नुभएको थियो । यसैगरी, ओलीले आज नै कमल २ क्याम्पास्थित तोपगाछी खानेपानी आयोजनाको समेत निरीक्षण गर्नुभएको थियो ।