• २०८१ फाल्गुन ७ गते बुधवार

देशको विकासका लागि विज्ञको ज्ञान सदुपयोग गर्नुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २५, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १७औँ साधारणसभा एवम् नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले मुलुकको नेतृत्व गर्ने राजनीतिक दलले भएको बताउँदै राजनीतिक नेतृत्वले विज्ञसँग भएको ज्ञान, सीप र अनुभवलाई लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “मुलुकमा राजनीतिक व्यवस्था फेरिए पनि आर्थिक, प्रशासनिक, सुरक्षा, न्यायलयजस्ता निकाय पुरानो ढङ्गले सञ्चालन हुँदा देशले सोचेको जस्तो विकासको गतिलाई अगाडि बढाउन सकेन”, उहाँले भन्नुभयो ।

उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात् गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले कर्मचारीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो । अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

पूर्वसचिव कृष्णहरि बाँस्कोटाले अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच एकापसमा सहकार्य हुन नसक्दा मुलुकको अर्थतन्त्रले गति लिन नसकेको बताउनुभयो । “कोभिड–१९ ले थला परेका व्यवसायीलाई आफ्नो कार्य क्षेत्रबाट पलायन हुन नदिन विश्वका कैयौँ मुलुकले करमा छुट दिएका छन्, नेपालले पनि यस्ता कार्यहरू पछ्याउन सके व्यवसायीलाई केही राहत हुन सक्थ्यो,” उहाँले भन्नुभयो । पूर्वसचिव बाँस्कोटाले चीनसँग व्यापार गर्ने व्यवसायीले नाकामा ठूलो समस्या भोग्नुपरेको भन्दै व्यापार सहजको वातावरण निर्माणका लागि सरकारले पहल चाल्नुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वउपाध्यक्ष कमलेश अग्रवालले व्यवसायीलाई आफ्नो व्यवसायबाट पलायन हुन नदिन सरकारले नयाँ नीति ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस