बैशाख २५, सुनसरी। सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवारले सुसाइट लोट लेखेर झुुण्डिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार शनिबार बिहान घर नजिकैको आँपको रुखमा स्थानीय ६५ वर्षीय गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
‘म आफैँ पनि घटनास्थल पुगेको थिएँ, प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्या नै हो भन्ने खुलेको छ,’ एसपी थापाले भने, ‘हामीले झुण्डिएको स्थान नजिकै सुसाइट नोट फेला परेका थियौँ ।’ उनका अनुसार सुसाइट नोटमा म आफैँ झुण्डिएको र घटना अनुसन्धान नगर्न भनिएको थियो ।
मृतक पौडेलको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटना थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।
उनका अनुसार यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पौडेल रामधुनी ८ को वडाध्यक्षको स्वतन्त्र उम्मेदवार थिए । राति सँगै श्रीमतीसँग सुतेको र २ बजेतिर उठेर खोज्दा बिहान मात्रै मृत फेला पारिएकाले प्रहरीलाई खबर भयो, एसपी थापाले भने, ‘सुसाइट नोटमा भनिएको छ, यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू, पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु ।’
उनी यसअघि ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएको र यसपटक पनि टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा वडाध्यक्ष्मा उम्मेदवारी दिएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको आन्तरिक विवादकाबीच पौडेलले मानसिक सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उम्मेदवारी फिर्ता लिन दबाब दिएको खुलेको उनले बताए । यद्यपि, घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।