• २०८१ मङ्सिर २४ गते सोमवार

महिलाप्रति विभेद अधर्म हो

घनश्याम कोइराला पढ्न लाग्ने समय : ९ मिनेट

नबुझेको हुनु र बुझ पचाउनु एउटै होइन । कुनै पनि विधान, नियम, आचार संहिता आदिको आफ्नो मात्र पक्षमा भाष्य गर्नु फट्याइँ हो । मानिसले मानिसलाई मानिससरह व्यवहार नगर्नु विभेद हो । मानवहित विरोधी भाष्य हिंसा हो । विभेद अन्याय, उत्पीडन र अधर्म हो ।

धर्म, संस्कृतिमा अधर्म र अपसंस्कृतिलाई कुनै ठाउँ छैन । प्रकृतिले मानिस बनाएको हो । मानिस मानिस मिलेर समाज बनेको हो । समाजलाई व्यवस्थित रूपमा चलाउने नियम मानिस—समाजले बनाएको हो । प्रकृतिलाई बुझ्न सकिन्छ, समाजलाई फेर्न सकिन्छ । फेर्ने भनेको परिमार्जन गरी अनुकूल बनाउनु हो । अनुकूलता सबैको हक हो । गुणहरूलाई स्वीकार गर्नु, सम्मान गर्नु धर्म हो । बहुजन हितका लागि भइरहने, गरिइरहने परिवर्तन नै संस्कृति निर्माण हो । सुन्दर, सभ्य, समृद्ध संस्कृति निर्माण गर्न सबै प्रकार विभेद अन्त्य हुनै पर्छ ।

आज मार्च ८ हो । यस दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा समानतामुखी लैङ्गिक जागरणको सन्देशसहित मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय स्तरमा यो दिवस मनाउन सुरु गरिएको ११२ वर्ष भएको छ । तर, समानताको स्वर हाम्रा लागि नयाँ विषय होइन । नेपाली विदुषी योगमाया न्यौपानेले योभन्दा ८५ वर्ष पहिले अर्थात् १९७ वर्षअघि अधिकारमुखी अभियान सुरु गर्नुभएको हो । हाम्रो देशको महिला आन्दोलन अन्तर्राष्ट्रिय भनिएको महिला आन्दोलनभन्दा ८५ वर्ष जेठो छ ।

हाम्रो सृष्टिका मुहान को हुन् ? महिला, नारी, स्त्री ! सृष्टिका मुहान पत्तो लगाउन कुनै शास्त्र, वेद, पुराण पढिरहनु पर्दैन । आमा महिला हुन्, आमा हाम्रो प्रत्यक्ष जन्मदाता हुन् । यति बुझेर मात्र सृष्टि र दृष्टिका बारेमा अरु कुरा बुझ्न उपयुक्त हुन्छ । महिला आधा आकाश या आधा धर्ती होइनन् । हाम्री आमा आधा हुन सक्दिनन् । आमा सग्लै हुन्, बाबा पनि सग्लै हुन् ।

सृष्टिका विषयमा वेद—पुराणहरूमा धेरै विचारहरू पढ्न पाइन्छ । वेदका सृष्टि र सृष्टिका अनेकौँ विषयमा तथा इहलोक—परलोकका विषयमा उपनिषद्हरूमा गम्भीर विवेचना पाइन्छन् । वेदमा संग्रहित ऋचा—मन्त्र, सूक्तहरूका आधारमा आत्मा—परमात्मा, मोक्ष, सुख, कर्तव्याकर्तव्यका विषय ऋषि—ऋषिकाहरूले वृहत् छलफल गरेका प्रसंगहरू पनि छन् । स्मृतिग्रन्थहरूमा मानव जीवनका प्रसंगहरूमा प्रवन्धकीय पद्धतिका विषयहरू लेखिएकाछन् । यिनमा मानिसका दैनिक जीवनमा गरिने वैयक्तिक कार्यहरू जस्तै ः मल—मूत्र विसर्जन, पूजा, सन्ध्योपासना, संस्कारहरू, यात्रा, सरसफाइ, मर्दा—पर्दाका विषयहरू छन् ।

ती सबै विषय कुनै एउटा झुण्डले एकै ठाउँमा बसेर, हतार—हतारमा निष्कर्षमा पुगेर ताली बजाएर टुंग्याइएका विषय होइनन् । फरक—फरक ठाउँमा, फरक—फरक प्रसंगमा फरक—फरक मानिसहरू (ऋषि—ऋषिकाहरू)का अनुभवहरू एकत्र गर्दै, व्यवहारमा कार्यान्वयन गर्दै, अनुभवमा अनुमानहरू थप्दै, वहस गर्दै, मतान्तर कायम राख्दै अघि बढाइएका विषय हुन् । त्यसैले तिनीहरूमा अन्तर्विरोध वा विरोधाभासहरू देखिन्छन् । मानव जीवनका आवश्यकता र तिनलाई व्यवस्थापन गर्ने प्रवन्धहरूमा पूर्णविराम लाग्न पनि सक्दैन । यो अघि बढ्छ र बढिरहन्छ, बढिरहन्छ ।

मानिस जहिले र जहाँ भए पनि सुख—शान्ति र अनुकूलताको खोजीमा रहन्छ । यस क्रममा फेला परेका अनुकूल विषयलाई पालन गर्दै परम्पराको रूपमा अघि बढ्दछ । यही खोजाइमा नै नियम—कानुन बन्दछन् । व्यवस्थापनका सिद्धान्तहरू बन्दछन् । धर्म पनि तिनै हुन् । प्रकृतिलाई मानव जीवनको अनुकूलतामा उपयोग गर्ने र यी सबैका कारणहरूको खोजीमा नै दर्शनको विकास भएको हो । महाभारतको यो भनाइ : धारणाद्धर्ममित्याहु धर्मो धारयते प्रजाः ! अर्थात्, धारण गर्नु धारणा बनाउनु वा त्यस्ता धारणाहरू धारण गर्नुलाई नै धर्म भनिन्छ । धर्मलाई जनताले धारण गर्दछन् । यी मान्यताको विकास आवश्यकताकै आधारमा भएको हो । महाभारतको यो भनाइले धर्मको सम्बन्ध व्यक्तिमा मात्र निहित छैन, यो सामूहिकताका लागि हो । समूहको हितमा नभएको कुनै प्रावधान धर्म हुनै सक्दैन । धर्मका विषयमा यहाँ योभन्दा बढी चर्चा गर्न चाहिनँ ।

तपाइँलाई विभेद कस्तो लाग्छ ? कसैले तपाइँलाई जन्म, लिङ्ग, धर्म, क्षेत्र आदिका नाममा होच्यायो भने कस्तो लाग्छ ? अन्य कुनै बहानामा तपाइँलाई कसैले हेला—होँचो गरे भने कस्तो लाग्छ ? यी प्रश्नहरूमा कहिल्यै घोत्लिनु भएको छ ?

तपाइँसँग योग्यताको माग गरियो, तपाइँले त्यो योग्यता हासिल गर्नु भयो । तपाइँसँग क्षमताको माग गरियो, यो पनि तपाइँले आर्जन गर्नु भयो । तपाइँसँग खास विशेषताको अपेक्षा गरियो, त्यो पनि तपाइँसँग छ । तर पनि तपाइँलाई अयोग्य, असक्षम, विशेषताहीन भनियो भने तपाइँ के गर्नुहुन्छ ? तपाइँलाई सबै कुरा भएर पनि तर…..भनियो भने तपाइँको मनमा के गरौँ जस्तो लाग्छ ?

तपाइँ जस्तै अरु हिँडिरहेको बाटोमा, अरु तरिरहेको पुलमा, अरुले खाने गरेको खानामा, अरुले सोच्ने गरेको तरिकामा, अरुले पढ्ने गरेको शिक्षामा, अरुले पुज्ने गरेको मन्दिर या देवी—देवतामा हिँड्न, तर्न, खान, सोच्न, पढ्न, पुज्न आदिबाट कसैले निषेध गरे भने तपाइँको मनमा कस्ता भावहरू उत्पन्न हुन्छन् ? यसरी सोचौँ त ।

यति बेलाको हाम्रो सामाजिक जीवनमा कस्तो देखिन्छ ? जान्ने—सुन्ने र हातमा शक्ति भएकाहरूले चलन—चल्ती, नियम—कानुन, शास्त्र—प्रवन्ध यसरी प्रयोग गर्ने गरेको देखिन्छ ? तजबिजी प्रवन्धहरू देखिए—भोगिएको छ कि छैन ? यी विषयमा सोच्न भ्याउनु भएको छ ? आफ्नो पक्षमा सकारात्मक र अरुप्रति नकारात्मक हुने वा उदासीन रहने बानी छ कि छैन ?

एउटै कोखबाट जन्मेर पनि तपाइँलाई अरुभन्दा भिन्न व्यवहार गरिन्छ, जन्मसिद्ध पाउने अधिकार उपभोग गर्नबाट वञ्चित गरिन्छ, तपाइँमा रहेका अरुको भन्दा भिन्न विशेषतालाई कमजोर ठह¥याइन्छ भने तपाइँलाई कस्तो लाग्छ ?

एउटै घर—सम्पत्तिमा तपाइँ निर्धन÷श्रमिक र अर्को धनवान्÷स्वामी भएको यथार्थ भोग्नुप¥यो भने तपाइँको दृष्टिकोण कस्तो बन्छ ? सहन सक्नुहुन्छ कि हुन्न ? के तपाइँले तपाइँ स्वयं र अरुमाथि यस्तो भइरहेको देखिरहनु भएको छ ? यस्ता अवस्था भोगिरहनु परेको छ ? देख्नु भयो वा भोग्नै प¥यो भने तपाइँ शान्त, शालीन, भद्र, विवेकी, सन्तुलित रहन सक्नुहोला ?

एउटै कोखबाट जन्मेकामध्ये कसैको जीवनसाथी जन्मजात महत्वपूर्ण र दर्जावाल अनि तपाइँका यी सबै महत्वहीन र दर्जाहीन हुनुपर्दाको पीडा कतिपयलाई भोगेर मात्र थाहा हुन सक्दछ भने कतिपयले यसलाई नियति ठानेर भोगिरहेका हुन सक्दछन् । यस्तो देखाइ वा भोगाइमा पर्नुभएको छ कि छैन ?

यी र यस्ता धेरै प्रश्न छन् । तर, विषय यति धेरै छैनन् । क्षेत्र भिन्न पनि छैन । घर भिन्न छैन । एउटै भोगाइ हरेक घर, हरेक ठाउँ, हरेक विषय…..!? समाधानका विषयमा मतभेद ।

हो, यहाँले अनुमान गर्नु भयो होला, मैले महिलाहरूको कुरा गर्न खोजेको हुँ । म पुरुष, अधिकार सम्पन्न छु । मेरो नागरिकतामा लेखिएको अरु चिनारीले होइन, म पुरुष भएको हुनाले केही विशेषाधिकार उपभोग गर्दै आइरहेको छु । मेरी आमा, मेरी जेठी आमा, मेरी काकी, मेरी दिदी, मेरी भाउजुभन्दा म निर्णायक र अधिकार सम्पन्न छु । उनीहरू मेरासामु अधिकारका दृष्टिले निरिह छन् । के यो उचित हो ? के यो धर्म हो ?

मैले माथि केही प्रश्नहरू उपस्थित गरेँ । यो मेरो मनमा आयासै आएको होइन । दिदी र ममा फरक व्यवहार भएदेखि उकुसमुकुसिएका प्रश्न हुन् । यिनै प्रश्नले राजनीतिक व्यवस्था परिवर्तनका चक्रवातमा हुर्रिएको हुँ । कहिले हु¥याइयो, कहिले हुत्याइयो । तर, ती प्रश्नको इमान्दार उत्तर अझै आएको छैन । मानिसका निजी गुण—दोष स्वाभाविक हो । मानिस तुलनात्मक रूपमा व्यक्तिगत सक्षम—अक्षम, सबल—दुर्बल हुनसक्दछ । तर सृष्टिकै एकथरी मानिसहरू विनापरीक्षण असक्षम भन्ने मान्न कुनै सचेतले सक्दैन । मेरा घर—परिवारमा यस्तो भइरहेकै छ, म रनभुल्ल बसिरहेकै देखिन्छु । यस विषयमा म न्यायिक छु भन्ने लागेकै छैन । म आपूm स्वयं न्यायिक नभइरहँदा अरुबाट न्यायको आस गर्नु भिक्षावृत्ति मात्र हो । नेपालीको एउटा उखान सम्झन्छु ः माग्नेलाई फलेको चामल ? स्पष्ट छ, माग्नेले रोजेको पाउँछ र ? एउटै घरमा याचक(माग्ने) र दाता भएको घर—परिवार, समाज, राष्ट्र न्यायपूर्ण भएको ठहरिन्न । एउटै घरमा दाता र याचक भएको समाज कत्तिको न्यायिक होला ? यसको दोष धर्मलाई, वेदलाई, शास्त्रलाई दिएर उम्कने ठाउँ देख्दिनँ म त !

वेदादि ग्रन्थमा सृष्टिका सम्बन्धमा धेरै विचार र धारणाहरू छन् । सृष्टि बारेको यो पहिलो प्रश्न छ वेदमा ः
यत्पुरुष१ व्यदधुः कतिधा व्यकल्पयन् ।
मुखं किमस्य कौ बाहू का ऊरू पादा उच्यते ।।

संकल्पबाट उत्पन्न विराट् पुरुषलाई ज्ञानीहरू विभिन्न किसिमले वर्णन गर्दछन् । त्यसको कस्तो कल्पना गर्दछन् ? त्यसको मुख कुन हो ? त्यसका पाखुरा, जङ्घा र गोडा कुन कुन हुन् ? (ऋग्वेद १०.९०.११) यहाँ उल्लेख भएको पुरुष भनेको छोरा मान्छे जनाउँदैन । सृष्टिका सबै पक्ष अटाउने मानव रूपको ठूलो आकृति हो भन्ने बुझिन्छ । संकल्पबाट भएको भनिएबाट यहाँ लिंगीय वा लैंगिक प्रसंग होइन भन्ने स्पष्ट हुन्छ । यसै पनि एउटै पुरुष आकृति छ भने अर्को हुँदै नभएको पक्षमाथि विभेद हुने भन्ने विषय स्वतः खण्डित हुनेछ ।
ब्राह्मणोद्रस्यमुखमासीद् बाहू राजन्यः कृतः ।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रो अजायतः ।।

त्यस विराट् पुरुषको मुख ब्रह्मज्ञानी, पाखुरा शूरवीर, तिघ्रा वितरण गर्ने वैश्य र गोडा श्रमिक शूद्र वर्गले वा तिनको भावले प्रकट गराए । (ऋग्वेद १०.९०.१२ ) यहाँ पनि महिला—पुरुषको प्रसंग छैन । यहाँ पनि महिलाको प्रसंग छैन । जहाँ महिला र पुरुषको प्रसंग छैन, त्यहाँ त्यसै आधारमा विभेद हुनसक्ने आधार नै भएन । (यहाँ प्रयुक्त सबै वैदिक मन्त्रहरूको नेपाली अनुवाद श्री तिलकप्रसाद लुइँटेलको अनवाद साभार गरेको छु ।

सबै पुराणहरूमा सृष्टिका प्रसंग छन् । तर त्यहाँ कहीँ पनि विभेदयुक्त सृष्टिको प्रसंग पाइँदैन भन्ने ठोकुवा गर्न सकिन्छ । वस्तुगत कारणले कार्य विभाजनका आधारमा महिला र पुरुषले गर्ने काममा भिन्नता देखिने विषय पृथक प्रसंग हो । ती विषयमा क्रमशः चर्चा गरिनेछ ।

पछिल्लो सन्दर्भ हेर्दा हिन्दुजनमनले साह्रै रूचाउने चर्चित ग्रन्थहो श्रीमदभगवद्गीता । यसलाई सबै उपनिषद्का सारको रूपमा उल्लेख गरिएको छ । श्रीमद्भगवद्गीताकै महिमामा यस प्रकार उल्लेख हुनुले यसको महत्वको पुष्टि हुन्छ :
सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः । पार्थो वत्सः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत् ।। अर्थात् सबै उपनिषद्हरू गाई हुन् र तिनीहरूलाई दुहुने कृष्ण हुन् । अर्जुन बाछो हुन् । सज्जनहरू उपभोक्ता हुन् । यस्तो गीतामा वर्णविभाजनको विषयमा यस्तो लेखिएको छ :
चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः । मैले गुण र कर्मको विभाजनको आधारमा चारवर्ण बनाएको हुँ । (श्रीमद्भगवद्गीता ४÷१३) यहाँ पनि महिला—पुरुष भनेर छुट्ट्याइएको छैन । गुण र कामका आधारमा नै चार वर्णको सृष्टि गरिएको वा चार वर्णमा विभाजन गरिएको स्पष्ट छ । तर, किन हामीले महिलाहरूलाई याचक, कमजोर ठान्दछौँ ? किन पुरुष मात्रै दाता र बलशाली ठानिन्छ हँ ?

पहिले मानिसहरूको जानकारीका स्रोत, ज्ञानका स्रोतको प्रचुरता थिएन । केही मानिसका अनुभव, केही मानिसका कथा—प्रवचन नै जानकारी—ज्ञानका स्रोत थिए । ठूलाहरूको आज्ञा नै अनुशासन थियो । सबै कुराका सीमिततामा हाम्रा सामाजिक जीवन थिए । संसार उही हो, साधन सीमित थिए । वेद, उपनिषद्, पुराण, त्रिपिटक जान्ने माध्यम नै कति थिए र ? अहिले साधनको प्रचुरताले संसारलाई सीमित पारेको छ । सके मुट्ठीमै, नभए घरमा र त्यति पनि नभए समुदायमा सूचनाको माध्यम उपलब्ध छ । यी सबै जानकारीका स्रोतहरूको सदुपयोग लैंगिक समताको लागि गर्न आवश्यक छ ।

मानिस अरुका विषयमा कम आफ्ना विषयमा बढी जान्ने थिए । अहिले मानिस आफ्ना विषयमा कम र अरुका विषयमा बढी जान्ने भएका छौँ । झण्डै हामी सबैले आपूmलाई अगुवा नै ठान्दछौँ, तर अरुका बारेमा बढी जान्ने सीपसँगै अरुका बारेमा सोच्ने सोचाइ विकास गर्न सकेका छैनौँ । हामी सचेत त तब हुन्छौँ, जब अरुका बारेमा पनि सोच्न थाल्दछौँ । त्यसैले, चार—चौरास सोच्ने हामीले हाम्रै घरका, हाम्रै जन्मदाता महिलाहरूको समानताको विषयमा र उनीहरूको उत्कर्षको विषयमा आत्मीयतापूर्वक सोचौँ न ! विभेद विरुद्ध नबोल्नु अन्यायको पक्षपोषण हो । बोल्ने गरौँ, न्याय जाग्छ कि ? पुराना चलनचल्ती, मनु, व्यास आदिमाथि दोष थोपरेर होइन, हामी आफुले समतामुखी भएर सोच्ने र व्यवहार गर्ने गरियो भने समतामुखी समन्यायिक समाज कल्पनाको र संघर्षको विषय रहने छैन ।

प्रतिक्रिया दिनुहोस