माघ २५,काठमाडौं।भारतको दूरदर्शन च्यानलमा प्रसारित बीआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार सोबतीको निधनको भएको छ । उनी ७४ वर्षका थिए ।महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवुड चलचित्रमा पनि अभिनय गरेका थिए ।
अग्लो र बलियो शारीरिक बनावटको कारण प्रवीण कुमारलाई महाभारतमा भीमको भूमिका प्रस्ताव गरिएको थियो ।उनको निधनमा महाभारतमा युधिष्ठिरको भूमिका गर्ने गजेन्द्र चौहनले ट्विटरमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘आज बिहानै एउटा दुःखद समाचार प्राप्त भयो । मेरा महाभारतका भाइ प्रवीण कुमार हामी सबैलाई छोडेर अनन्त यात्रामा गएका छन् । विश्वास नै भएको छैन । तपाईँ सधैँ हाम्रो यादमा रहनु हुनेछ ।’उनले एसियाली र कमनवेल्थ गेम्समा गएर पदक पनि जितेका थिए । उनले दुई पटक ओलम्पिकमा भारतको प्रतिनिधित्व गरे पनि केही वर्षयता उनले आर्थिक अभावको सामना गर्नुभएको थियो । यसको अवस्थामा उनको सहयोगका लागि सरकारसँग गुहार नै गर्नुपरेको थियो ।