माघ २५, दिपायल।सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो । ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो ।
अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासङ्घका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको शाखा सचिव केशवचन्द्र महराले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौताअनुसार स्वास्थ्य सेवा लिने व्यक्ति महासङ्घको साधारण सदस्य हुनुपर्ने उल्लेख छ । स्वास्थ्य सेवा लिन जाँदा महासङ्घको सदस्यताको परिचयपत्र र महासङ्घको सिफारिस पेश गर्नुपर्ने प्रावधान छ ।जिल्लामा पत्रकारले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, मर्यादा, स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदान र भूमिकाको मूल्याङ्कन गर्दै स्वास्थ्योपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले उपचारमा सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख बलायरले बताउनुभयो । मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारको अर्थावस्था अहिले पनि कमजोर रहेकामा अस्पतालले पत्रकार तथा उनीहरूका परवारका लागि उपचारमा सहुलियत दिन गरिएको निर्णय सराहनीय भएको महासङ्घका अध्यक्ष शाहीले बताउनुभयो ।
महासङ्घले जिल्लामा रहेका अन्य अस्पतालसँग पनि पत्रकार तथा उनीहरूका परिवारको उपचारका लागि सहुलियत दिलाउन पहल गर्ने अध्यक्ष शाहीले जानकारी दिनुभयो । सुजङ अस्पताल ५० शय्याको सामुदायिक अस्पताल हो । अस्पतालले अर्थावस्था कमजोर भएका नागरिकलाई पनि उपचारमा सहुलियत दिँदै आएको छ ।