पुस २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ओली निवास बालकोट पुगेका छन् ।शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकले निरन्तर भइरहेको संसदमा अवरोध र सर्वदलीय बैठकमा ओली अनुपस्थित भएपछि ओलीसँग भेटवार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
सोही बैठकको निर्णयअनुसार संसदको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास पुगेका हुन् ।ओली आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्यादेश ल्याएको र सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै रुष्ट छन् ।
एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन ।