• २०८० चैत्र १६ गते शुक्रवार

भाडाका ११ भवनमा कर्णाली स्वास्थ्य प्रतिष्ठानका, आफ्नो भवनमा कहिले ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २२, जुम्ला ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एकेडेमीतर्फ ईन्टर, ब्याच्लर, मास्टर लेवलमा अध्यापना गराइरहेको छ । तर, आफ्नै भवन नहुँदा प्रतिष्ठानले ११ घर भाडाका घरबाट यी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रध्यापक चिकित्सक बस्ने भवन, अध्ययन अध्यापन भवन, होस्टेल, आधारभुत चिकित्सा विज्ञान भवन समेत भाडामा लिनु परेको बताए । यही समस्याबारे उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको ध्यानाकर्षण पनि गराएका छन् । उनले भने, ‘प्रतिष्ठानलाई आवश्यक भौतिक संरचना निर्माण गर्न बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ । सरकारको पूर्ण सहयोग आवश्कता छ ।’ स्वास्थ्य सेवा, एकडेमी र अनुसन्धानतर्फ संस्थाले आशाका किरण देखाएको छ । हाइअल्टिच्यूटका आधारमा विश्वको सबैभन्दा उच्च स्थानमा पेरुको अस्पताल छ त्यसपछि दोस्रो स्थानमा यही जुम्लाको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन गर्न जुम्ला आएको बेला प्रतिष्ठानका उपकुलपति डा. रावलले यस्तो आग्रह गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीले प्रतिष्ठानको आग्रहलाई स्वीकार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति सकारात्मक रहेको बताए । उनले प्रतिष्ठानको वृत्ति विकासमा काम गर्ने प्रतिबद्धता जनाए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी, सचिवसहितको टोलीले प्रतिष्ठानको स्वास्थ्य सेवा, चिकित्सा शिक्षातर्फ अध्ययन अध्यापन विभिन्न फ्याकेल्टिको अनुगमन गरी सुझाएको रजिष्टार निर्पेन्द्र महतले बताए ।

प्रतिष्ठानले डायलाइसिस सेवा सुरु गर्दै
प्रतिष्ठानले चाडै नै मिर्गौला डायलाइसिस सेवा पनि सुचारु गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलाइसिस उपकरण (मेसिन) उपलब्ध गराएपछि सेवा सुचारु हुनेछ ।

मन्त्रालयले प्रतिष्ठानलाई ६ सेट डायलाइयसिस उपकरण उपलब्ध गराउने भएको छ ।

चिकित्सक आउनै नमान्ने जिल्लाले चिकित्सक उत्पादन गर्दै
कुनै समयमा चिकित्सक आउन नमान्ने जिल्ला जुम्लाले अहिले चिकित्सक उत्पादन गरिरहेको छ । जुम्लामा एमबीबीएससहितका स्वास्थ्यसम्बन्धी उच्च शैक्षिक कार्यक्रम सुरु भएपछि दुर्गम ठाउँमा धेरैको ध्यानाकर्षण भएको छ ।

विगतमा भन्दा यस वर्ष एमबीबीएसमा थप १० कोटा थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधारभूत मेडिकल विज्ञानका संयोजक प्राध्यापक डा. दिनेश बाँस्तोलाका अनुसार प्रतिष्ठानमा अघिल्लो वर्षदेखि २० जना एमबीबीएस विद्यार्थी अध्ययन गरिरहेका छन् ।
यसवर्ष ३० जनाको सिट स्वीकृत भएको छ । अझै विद्यार्थी भर्ना हुनेक्रम जारी छ ।

उनका अनुसार उच्चशिक्षामा स्कुल अफ मेडिसिन, स्कुल अफ नर्सिङ रे स्कुल अफ पब्लिक हेल्थ विषयका कक्षा सञ्चालन भइरहेका छन् । स्कुल अफ मेडिसिनमा एमबीबीएस र बी फार्मेसी पढाइ भइरहेको छ । नर्सिङमा मिडवाइफ स्नातक र बिएन अध्ययन भइरहेको छ । यस्तै, स्नातकोत्तरमा एमडी एनेस्थेसिया, एमडी पेड्रियाटिक्स, एमएस अर्थाे र एमडीजीपी कक्षासमेत सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस