• २०८१ भाद्र २४ गते सोमवार

मनकामना माताको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७८ चैत्र २४ गते बिहीवार तदनुसार ई. सं. २०२२ अप्रिल ०७ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४३, (चौलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, चैत्र शुक्लपक्षको षष्ठी तिथि, साँझ ०६:५७ बजेसम्म, त्यसपछि सप्तमी तिथि, मृगशिरा नक्षत्र, बेलुका ०९:२२ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा बृष राशिमा, बिहान ०८:०३ बजेसम्म, त्यसपछि मिथुन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान्यजनको सामीप्य प्राप्त हुने तथा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन छ । दाजुभाइ वा माइतीपक्षसँग सम्पर्क गरी भलाकुसारी गर्ने समय हो । सहकार्यको भावना विकसित हुने राम्रो दिन छ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ/लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुनसक्छ । अहिले पुरुषका तुलनामा महिलाहरूका लागि विशेष उपलब्धी पाउने समय हो, व्यक्तिगत पहिचान र व्यवसायिक गतिविधिको स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फँसेको धन उकास्ने समय छ । मुखका माध्यमबाट पनि कुनै अवसर फुत्काउन सक्नुहुन्छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर कलह हुने भएकाले भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु नै राम्रो हुन्छ । जोखिमयुक्त काममा मन लगाउनु हुँदैन । घर/परिवारको बारम्बार याद आउनाले मानसिक असन्तुष्टि बढ्ने दिन हो । सम्पर्क गरी आमासित कुराकानी गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आफन्त र प्रियजनसँगको भेटघाटले आजको दिन आनन्दित र मनोरञ्जक रहनेछ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । गरेका प्रयास र उद्यममा अलिबढी सङघर्ष र चुनौैती झेल्नुपर्ने हुन्छ । विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त खट्नुपर्ने हुन्छ, तापनि सुखदु:खमा साथ दिनेहरू फेलापर्ने दिन हो । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । व्यापारिक लगानी बढाउने प्रस्ताव आउनेछ । पैसाको तरलता र दैनिक खर्चमा कटौती गर्नुपर्ने बाध्यता बन्नसक्छ । अहिलेको त्याग र साधनाबाट भविष्य सुध्रने हुँदा अघि बढ्नु जायज हुन्छ । आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कर्मप्रति समर्पित हुने र थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आम्दानीको मार्गमा नयाँ किरण देखापर्ने दिन हो । कर्मप्रतिको समर्पणभाव बढाउनुस्, भाग्यबृद्धि हुनेछ । कुनै समारोहका बीचमा लवमेटसँग भेट हुनाले प्रसन्नताका साथमा समय बित्नेछ, अब छिट्टै वैवाहिक बन्धनमा बाँधिने योजना बनाउन सक्नुहुन्छ । मन र शरीर भारी हुने समय छ, कामकाजमा पनि उत्साह नहुन सक्छ । कुनै परिचित मान्छेको नराम्रो खबर सुन्दा दिक्क मान्नु हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा उदासीपन र तनमा शिथिलता भरिएको दिन छ । नचाहिंदा चिन्ता र शङ्काले कमजोरी बढ्नसक्छ, त्यसैले विश्वस्त व्यक्तिसामु आफ्नो कुरा राख्नोस्, मानसिक बोझ हट्नेछ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । आफूलाई खुसी राख्न सक्दो प्रयास गर्नुपर्ने समय हो । कार्यक्षेत्रको व्यस्तताले थकित बन्ने वा उत्साहमा कमी आउने परिस्थिति रहेको छ, त्यसैले आफ्ना लागिमात्र होइन, परिवारका निमित्तसमेत दृढता र हौसला आवश्यक देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आन्तरिक प्रतिभा र क्षमतालाई बाहिर निकाल्ने समय हो । लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनसक्ने राम्रो दिन छ । आफ्नो दिनलाई अझ उत्कृष्ट बनाउन आकर्षक छवि र कुशल व्यवहारको प्रदर्शन गर्नुपर्छ । महत्त्वपूर्ण निर्णय लिनुअघि निकै सोचविचार गर्नुहोला, किनकि आजको निर्णयले भाग्यको ढोका उघार्न सकिने छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने समय हो, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । मानसिक रूपमा कमजोर समय छ, मित्र र सहयोगीहरूले पनि साथ दिन पाउने छैनन् । काम र यात्राबाट थकानको महसुस हुनसक्छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनु हुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाति हुन्छ । दैनिक र व्यवहारिक खर्चको मात्रा बढ्नेछ । कुनै गुप्त कारोबारका क्रममा हानि व्यहोर्नुपर्ने समय छ, सचेत भएर काम गर्नुपर्ने दिन हो । कुनै अनुभव वा ज्ञानको कमी छ भने अझ पनि प्रयास गर्न सकिनेछ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, त्यस्तै आमाको आशीर्वाद लिन सके हरेक काममा सफल भइने दिन हो । अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ, पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला, त्यस्तै गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ ।

प्रतिक्रिया दिनुहोस