माघ २४, रुपन्देही । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभएको छ । एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उहाँले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताउनुभयो ।
एमाले तिलोत्तमा नगर कमिटीले आज तिलोत्तमा नगरपालिकाको शङ्करनगरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा सचिव विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको उल्लेख गर्नुभयो ।
नेता विश्वकर्माले एमसीसीबारे दोहोरो कुरा गरेर सत्तारूढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसीसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसीसीविरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उहाँको टिप्पणी छ ।
एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताउनुभयो । पार्टीमा कसैलाई काखापाखा वा भेद्भाव नगरिने पनि गिरीले बताउनुभयो । अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले देशव्यापीरूपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गर्नुभयो । आफ्नो दलमा प्रवेश गर्नेलाई नयाँ र पुरानोको आधारमा भेद्भाव नगरिने र कामको आधारमा मूल्याङ्कन र जिम्मेवारी प्रदान गरिने न्यौपानेको भनाइ थियो ।