चैत २३, काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संयुक्त रूपमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन आबद्ध पाँच दलको संयुक्त बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको हो ।
समितिमा कांग्रेसबाट गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी तोकिएका छन् । समितिको नेतृत्व गर्ने जिम्मेवारी पाएका कांग्रेस वरिष्ठ नेता पौडेलले समितिले छिट्टै सत्तारूढ दलबीच तालमेलको मोडालिटी बनाउने जानकारी दिए ।
‘चुनावका लागि गठबन्धनबाट समिति बन्यो, अब गठबन्धन आबद्ध दलहरूबीच कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा एउटा मोडालिटी बनाएर हामी अघि बढ्छौं, यही समितिले तालमेलको खाका तयार गर्छ, त्यसपछि सबै नेता बसेर टुंग्याउँछौं,’ नेता पौडेलले राजधानीसँग भने ।
उनले मोडालिटीको खाका तयार भएपछि समितिले गठबन्धनभित्र छलफल गर्ने र त्यसपछि अघि बढ्ने जानकारी दिए । यसअघि गत बिहीबार बसेको सत्तारूढ दलको बैठकले २२ चैतसम्म प्रदेश, जिल्ला र स्थानीय तहलाई स्थानीय तहमा दलको अवस्था बुझेर केन्द्रमा त्यसको रिपोर्ट दिन भनेको थियो । सो म्याद २५ चैतसम्मका लागि थप गरिएको छ । पौडेल नेतृत्वको समितिले अब तल्ला तहबाट आएका सुझावलाईसमेत ख्याल गरी तालमेलको मोडालिटी बनाउनेछ ।
बैठकमा देशका ६ वटा महानगर काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगन्ज महानगरपालिकामा तालमेल गर्ने विषयमा गठबन्धनको शीर्ष तहबाटै निर्णय गर्ने सहमति भएको बताइएको छ ।
गठबन्धन बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तत्र्रिmयाको आयोजना गर्ने र सुझावका आधारमा ठोस कदम चाल्ने निर्णयसमेत गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रिफिङसमेत गरेका थिए ।
बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।