फागुन २२, काठमाडौं। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।
माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । अध्यक्षपछिको शक्तिशाली पद महासचिव भएकाले बढी चासो यसै पदमा छ । महासचिव पदमा अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ दाबेदार र पम्फा भुसाल दाबेदार छन् ।
नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको छ ।