वि.सं. २०७९ वैशाख २९ गते बिहीवार तदनुसार ई. सं. २०२२ मई १२ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (वछलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, वैशाख शुक्लपक्षको एकादशी तिथि, दिउँसो ०३:३४ बजेसम्म, त्यसपछि द्वादशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, दिउँसो ०४:४४ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरको वातावरण सुख–शान्तिले भरिपूर्ण रहनेछ । पतिपत्नीबीच उचित समन्वय कायम हुन्छ, तर दाम्पत्य सम्बन्धमा एकअर्काको भावनाको कदर गर्नु जरुरी देखिन्छ । आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । शारीरिक थकान र बेचैनीका कारण तपाईं आफ्नो लक्ष्यबाट विचलित हुन सक्नुहुन्छ, अरुको समस्यामा चिन्ता गर्ने हुँदासमेत तनावमा बृद्धि हुनसक्छ, सहनशक्ति बलियो बनाएर अघि बढ्नुपर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर पाउन सकिने छ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ । आज कुनै न कुनै नयाँ कुरा सिक्ने समय हो । घरमा सम्पर्क गर्नुहोला, भाइबहिनी वा छोराछोरीका समस्यामा केन्द्रित हुने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नसक्ने समय छ । जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणदायक बन्नसक्छ । पारिवारिक रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ योजना सुरु गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक सुधार हुनेछ । तर पुराना साथीभाइ वा दौंतरीको काममा दौडधूप गर्ने समयसमेत देखिन्छ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्न सक्छ, तर आज आयस्तर बढाउने चिन्तनलाई व्यवहारसापेक्ष बनाउनु राम्रो हुन्छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । व्यवसायबाट विशेष लाभ लिने दिन हो, तर बोली र आचरणमा संयमता अपनाउनु पर्छ, साथै नयाँ लगानीका बारेमा पनि सतर्क रहनु ठीक हुन्छ । आफ्नो वा परिवारको बन्दव्यापार र व्यवसायिक क्षेत्रमा उन्नति भएको समाचार सुन्न पाइने छ । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाग्यले साथ दिनेछ । कार्यस्थल र घरपरिवारमा समेत खुसी छाउने समय हो । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रामरमाइलो गर्न खोज्दा तोकिएको जिम्मेबारीप्रति ध्यानकेन्द्रित हुन सक्दैन । त्यस्तै कुनै पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ । राम्रै गर्दा पनि नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुराको खुलासा नगर्नु बुद्धिमानी हुनेछ । क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्त वा बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । कर्तव्यपालनाका निम्ति गरेको त्यागको कदर हुनेछ, विचार र व्यवहारका प्रशंसकहरू बढ्ने समय छ । आज गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । सहकर्मी वा मातहतका कर्मचारीबाट असहयोग हुँदा अप्ठ्यारोमा पनि पर्न सकिन्छ, तर लगनशीलता र मिहिनेतका साथै स्पष्ट विचार र दृढ धारणाका कारण ताकेको काम पूरा गरिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । आफ्नो काममा भन्दा पनि कुल, वंश र घरघरानाका विषयमा चिन्तन गर्न मन लाग्नेछ । आफ्नो अन्तर्मन र आत्मचिन्तनमा पनि केही समय छुट्याएको बेस हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम सार्वजनिक भएमा पनि गौरवको आभास हुनसक्छ । बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । भाइबहिनी वा छोराछोरीका लागि व्ययभार बढ्ने दिन छ । काम विशेषले बाहिर जानुपर्ने समय छ । नियमित कामधन्दाबाट लाभ नै हुनेछ, त्यस्तै सानो प्रयासले ठूलो काम बन्नसक्ने भाग्यबृद्धिको समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
त्यस्ता चालचलन र व्यवहारप्रति तपाईंले आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । स्वास्थ्यस्थितिमा मौसमी प्रभाव देखिने छ । आर्थिक सङ्कट निवारण गर्न सञ्चित पुँजी र आफ्नो हैसियत सम्झिएर अघि बढ्नु ठीक हुन्छ । दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ, तर याद गर्नुस्, आजको मिहिनेतको परिणाम स्मरणीय हुनसक्छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । आफ्नो काममा मात्र एकोहोरिएर लागिपर्नु भन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो ।