जेठ २२, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ ।
आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य केशव झाले जानकारी दिए । मधेश प्रदेशसहित देशका विभिन्ने बुथमा सत्ता गठबन्धनले राज्यशक्तिको दुरुपयोग गर्दै मत आफ्नो पारेको बैठकले निष्कर्ष निकालेको हो ।
नयाँ दलको रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण प्रचार प्रसारका लागि कम समय भएको कारण अपेक्षाकृत सफलता हात नपारेको उसको निष्कर्ष छ ।
आगामी चुनावमा विचार र मुद्दा मिल्नेसँग तालमेल गर्ने लोसपाको निर्णय
आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । ‘विचार र मुद्दा मिल्नेहरुसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छ’ कार्यकारिणी सदस्य केशव झाले भने ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता बारे जानकारी गराएका थिए । आफूहरुको माग र मुद्दा सम्बोधन गर्नका लागि सरकारसँग सरकार तयार रहेको उनले जानकारी दिए । गठबन्धन सरकारसँग लोसपाले नागरिकता विधेयक लगायतका विषयमा आफ्ना मागहरु राख्दै आएको छ ।