• २०८१ मङ्सिर २३ गते आइतवार

‘नागरिकप्रतिको कर्तव्य र दायित्व पूरा गर्न भरमग्दुर प्रयास गर्छौँ’ : गृहमन्त्री खाँण

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

माघ २२, सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने मेलम्ची खोलामा निर्माण गरिएको बेलीवृजको उद्घाटन गर्दै उहाँले प्रकृति विपद्बाट हुने क्षति न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनका लागि कदम आवश्यक चाल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खाँणले भन्नुभयो, “पीडामा परेका नागरिकको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, साधनस्रोत कमी भए पनि सरकारको जवाफदेही र जिम्मेवारी बढी छ, प्रहरी प्रशासनबाट नागरिकप्रतिको दायित्व निर्वाह भरमग्दुर प्रयास हुँदै आएको छ ।” गत असार र साउनमा मेलम्ची क्षेत्रमा आएको बाढीबाट क्षति भएका पुल निर्माणका लागि यथाशीघ्र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिँदै उहाँले नेपाली सेनाले छोटो अवधिमा निर्माण गरेको बेलीवृज यस क्षेत्रका नमूना हुने विश्वास व्यक्त गर्नुभयो ।

सेनाले यसअघि राष्ट्रिय महत्वका विभिन्न खोलामा विभिन्न समयमा बेलीवृज जडान गरी जनताको सेवा र सुविधाका लागि काम गरेको बताउदैँ मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई नागरिकको आशा र भरोसालाई तत्कालै सम्बोधन गर्ने कार्यक्रम बनाएर काम गर्न निर्देशन दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्न स्थानीयलाई आग्रह गर्दै उहाँले मास्क र खोपको प्रयोगले सङ्क्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने भएकाले त्यसमा ध्यान दिन सुझाव दिनुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची क्षेत्रका जोखिममा रहेका बस्ती संरक्षणका लागि समिति गठन गर्न, ट्राउड फर्म र घर खेत बगाएका नागरिकलाई राहत घोषणा गर्न माग गर्नुभयो ।

उहाँले मेलम्ची क्षेत्रका बगाएका स्थानमा पुल निर्माणका लागि तत्काल डिपीआर बनाएर काम सुरु गर्न बजेट निकासा होस् भन्दै भत्किएक सडक निर्माण र कालोपत्रका गृहमन्त्रीसँग अनुरोध गर्नुभयो । नेपाली सेना विपद् व्यवस्थापन निर्देशक यामप्रसाद ढकालले सरकारले दिएको जिम्मेवारीलाई अहोरात्र खटेर समयमै काम फत्ते गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जोखिममा परेका बस्ती संरक्षणका लागि मेलम्चीलाई साविकै धारमा फर्काएर दुवैतर्फ तटबन्ध निर्माण गर्न आवश्यक छ, पुल निर्माणले हेलम्बुलगायत आसपासका गाउँपालिकाका नागरिकलाई बन्द व्यापार सञ्चालन र आवतजावतमा ठूलो सहयोग पुग्नेछ ।” गत साउन १६ र १७ गते आएको भीषणवाढीबाट स्थानीय चनौटे बजारस्थित मेलम्चीका रातो पुल बगाएपछि त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो । छोटो समयमै पुल निर्माण गरेकोमा सेनाको कामको प्रशंसा गर्दै स्थानीयले पुल निर्माणले आवतजावत गर्न निकै सुविधा पुगेको भनी हर्ष प्रकट गरे ।

सेनाले तनहुँमा रहेको बेलीवृज ल्याएर काम थालेको दुई महिनामै जडान कार्य पूरा गरेको हो । सेनाले ४८.७७ मिटर लम्बाइ तथा ४.२० चौडाइका उक्त पुल रु एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको सहायकरथी ढकालले जानकारी दिनुभयो । मेलम्ची खोलामा आएको बाढीले त्यस क्षेत्रका पाँच पक्की पुल र ३०० भन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति पु¥याएको थियो । बढीले त्यस क्षेत्रका उब्जाउ हुने हजारौँ रोपनी खेत बगाएर नागरिकलाई बिचल्लीमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस