पुस २१ काठमाडाँै । सहरको समस्या बनिरहेको पार्किङ व्यवस्थापनको झन्झट हटाउने गरी नेपालमा आधुनिक पार्किङ प्रणाली भित्र्याइने भएको छ । विश्वका विभिन्न देशमा पार्किङलगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’ को नेपाल शाखा ‘आइडिया फर नेपाल’ ले यस्तो प्रणाली भित्र्याउन लागेको हो ।
कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुुनिक कार पार्किङ प्रणाली भित्र्याएपछि दुई कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताउनुभयो । उहाँले विभिन्न देशमा काम गरेको अनुभवका आधारमा नेपालमा पनि काम गर्न लागेको जानकारी दिनुभयो । आइडियाको विभिन्न परियोजनामार्फत आगामी १० वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताउनुभयो ।
कम्पनीले हाल विश्वका विभिन्न देशमा ४०० भन्दा बढी परियोजनामा संलग्नता जनाएको छ । त्यसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । तीन सय ५० वटा परियोजनामा भने अरु कम्पनीको पनि लगानी छ । कम्पनीले अफ्रिकाको सुनखानी, युरोपमा पार्किङ, घरजग्गा व्यसाय (रियल स्टेट), कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघिदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ ।
कम्पनीले कीर्तिपुर, बुटवल, नेपालगञ्ज, पोखरालगायतका क्षेत्रमा ‘मेघा सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्दैछ । त्यस्तै सिन्धुपाल्चोकमा फलफूल तथा जुम्लामा स्याऊ फर्म सञ्चालनको लागि प्रक्रिया आरम्भ गरेको छ । कार्यक्रममा संस्थाका निर्र्देशक रोजिना प्रधान राईले नेपालीलाई विश्वभर कामदारका रुपमामात्र हेरिने वर्तमान परिस्थितिलाई परिवर्तन गर्दै नेपाली पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरु लागि परेको बताउनुभयो ।