असार २०, काठमाडौं । दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा यात्रुको लगेज चेकजाँच गर्ने क्रममा १२५ ग्राम सुन फेला परेको भन्सार कार्यालयले जनाएको छ ।
दुबईबाट आउनुभएका सुमन दमाईको लगेजमा नाबालकले लगाउने सिङ्गल पिस पोशाकको पाँच थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको अवस्थामा ६० वटा सुनको रिङ फेला परेको हो । उक्त सुन फेला परेसँगै दमाईलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।
भिजिट भिषामा दुबई गएका दमाईले काम गर्ने अवसर नपाएपछि नेपाल फर्कने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहारस्वरुप सो पोशाक नेपालसम्म पु-याइदिन अनुरोध गरेको बताउनुभएको छ । स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको छ ।
एउटा धातुबाट अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भन्ने हिसाबले योजनाबद्ध ढङ्गबाट बटनभित्र सुन फिट गरी पठाएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसमा क–कसको संलग्नता छ भन्ने थप कुरा अनुसन्धानबाट खुल्ने जनाइएको छ ।