• २०८१ साउन ३ गते बिहिवार

एमालेमा घनश्याम भुसाललाई कारवाही गर्न सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारवाही सिफारिस गरेको छ। पार्टी अनुशासन विपरीत गतिविधि गरेको, अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको आलोचना गरेको र पार्टीलाई हतोत्साहित गराउने काम गरेको भन्दै आयोगको सचिवालय बैठकले कारवाहीको सिफारिस गर्ने निर्णय गरेको हो।

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले जानकारी दिनुभयो । पार्टी अनुशासनविपरीत गर्नेलाई कारवाही नगर्ने कुरा भएन। एउटा टेलिभिजन अन्तर्वार्तामा पार्टी अनुशासनविरपरीत बोलेकाले हामीले बैठक बसेर कारवाही सिफारिस गरेको हो,’ उहाले बताउनुभयो । बडालले भन्नुभयो, ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ । पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ ।’

स्थायी समिति सदस्य रहेका भुसालले अन्तर्वार्तामा पार्टी नेतृत्वले गलत नीति लिँदा स्थानीय तह निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए।

‘पार्टी विभाजन गलत थियो। त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो। दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए। महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए। ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो।

प्रतिक्रिया दिनुहोस