• २०८० चैत्र १६ गते शुक्रवार

सुडानको हिंसाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २०, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गर्नुभएको छ । उहाँले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गर्नुभएको हो ।
यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन् ।

सुडानमा आन्दोलनका क्रममा भएको हिंसाको विरोध गर्दै महासचिव गुटर्रेसले प्रहरीलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।उहाँले भन्नुभएको छ– यो प्रदर्शनका क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ, प्रहरीले नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना असहमतिका विषयमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकारको सुरक्षा गर्नुपर्छ ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले यस्तो अवस्थामा सुडानमा शान्तिपूर्ण रुपमा राजनीतिक निकासको खोजी गर्न आग्रह गरिएको छ । यहाँको राजनीतिक अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेको बताइएको छ । साथै महासचिव गुटर्रेसले यहाँका सबै राजनीतिक शक्ति र पार्टीहरुलाई शान्तिपूर्ण वार्ताको टेबुलमा बसेर निकास खोज्ने काममा लाग्न पनि आग्रह गर्नुभएको छ ।

सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले गत आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । सुडानमा पछिल्लो समय राजनीतिक सङ्कट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ ।
राजनीतिक सङ्कट थप बढ्दै गएका बेला उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनु भएको बताइएको छ ।
टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गर्नु भएको छ । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उहाँ भन्नु भो ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उहाँले सङ्क्रमणकालीन अवधिको बाँकी काम पूरा गर्न मद्दत गर्ने बताउनुभएको छ । गत अक्टोबर महिनामा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उहाँलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो ।

तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उहाँको विरोध हुँदै आएको थियो । सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस