• २०८१ मङ्सिर २३ गते आइतवार

सदनमा चिच्याउँदैमा राष्ट्रघात पखालिन्न, गगन र बाबुरामलाई भीम रावलको जवाफ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १९, काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी अनुमोदन गर्नेलाई इतिहासले राष्ट्रिय गद्धार अंकित गर्ने बताएका छन् । एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले संसदमा चिच्याएर अनुमोदन गर्दैमा राष्ट्रघात नछोपिने र इतिहासले मूल्यांकन गर्ने बताए ।

रावलले संसदमा बहस कहाँ गर्ने भनेर प्रश्न गर्ने कांग्रेस महामन्त्री गगन थापा र एमसीसी सम्झौता नेपालले नै छनोट गरेको हो भन्ने जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिको जवाफ पनि दिए ।

‘संसदमा जसरी छलफल नगरी चिच्याएर सत्ता गठबन्धनले अनुमोदन गरिएको छ, यसले नेपालको स्वाधीनता र निर्णय गर्ने क्षमतामा गम्भीर आघात पुगेको छ । यसमा संलग्नलाई इतिहासले राष्ट्रिय गद्धार भनेर अंकित गर्नेछ,’ उनले भने ।

रावलले एमसीसी सम्झौताको बहसमा को को आउने हो आउ भनेर चुनौती दिए । ‘अर्थमन्त्री, परराष्ट्रमन्त्री, महामन्त्री, को को छन् रु आउनुस् । म उहाँहरुलाई यो सम्झौता कहाँ कहाँ राष्ट्रघात छ भनेर देखाइदिन्छु,’ गगन थापालाई जवाफ दिँदै रावलले भने, ‘उहाँ(गगन)ले अमेरिकी कानुन कहाँ छ, हावादारी कुरा गर्ने भन्नुभयो । म उहाँलाई पढेर सुनाउँछु । कहाँ लेखेको छ भन्ने कांग्रेस महामन्त्री र प्रधानमन्त्री सबैलाई सुनाउँछु ।’

रावलले एमसीसी नेपालले नै छनोट गरेको भन्ने बाबुरामलाई पनि जवाफ फर्काए । ‘सम्झौता नेपालले छनोट गरेको होइन । एमसीसीका ११ जना कर्मचारीले प्रतिवेदन बनाएका हुन्,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीजस्तो पोर्टफोलियो नाघेर एमसीसीलाई पत्र लेखेकोमा प्रचण्डको आलोचना गर्दै रावलले व्याख्यात्मक घोषणा ठगात्मक घोषणाबाहेक केही नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस