माघ २०, काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै उनले देशभर पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको बताएका छन् ।
‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरु च्याउझैं सञ्चालनमा आएका छन् । त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्’ केसीले भनेका छन् ।