फागुन १७,एजेन्सी ।अमेरिकाको बहुराष्ट्रिय सवारी उत्पादक जनरल मोटर्सले रुसतर्फको निर्यात रोक्ने घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि उक्त कम्पनीले रुससँगको व्यापार सम्बन्ध रोक्ने निर्णय गरेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।
जनरल मोटर्सले रुसमा वार्षिकरूपमा जम्माजम्मी ३ हजार वटा सवारी बिक्री गर्दै आएको छ । यसले रुसमा आफ्ना १६ डिलरमार्फत व्यवसाय सञ्चालन गर्दै आइरहेको थियो । जुन, युक्रेनमाथिको हमला रोक्न दबाब दिँदै बन्द गरिएको हो ।
जनरल मोटर्स विश्वव्यापी बजारमा वार्षिक ६ मिलियन सवारी बिक्री गर्दै आएको छ । विश्वव्यापीरुपमा बिक्री हुने सवारीको तुलनामा रुसमा न्यून मात्रामा व्यापार गर्दै आइरहेको छ । कम्पनीले अहिलेसम्म रुसमा आफ्नै उत्पादन प्लान्ट समेत लगाएको थिएन । जसकारण, दक्षिण कोरियाबाट रुसतर्फ निर्यात हुँदै आएको थियो ।
‘अमेरिकाले लागू गर्ने नियम र कानून तथा अमेरिकी प्रतिब्न्धप्रति कम्पनी प्रतिबन्द्ध छ,’ कम्पनीमार्फत जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । यस्तै, अमेरिकी सरकारले जारी गरेको नियमहरू पालना गर्न समेत कम्पनी प्रतिबद्ध रहेको बताइएको छ ।