• २०८१ चैत्र १३ गते बिहिवार

अल्जाइमर विस्मृति समाजमा नयाँ नेतृत्व

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १७, काठमाडौँ । अल्जाइमर विस्मृति समाज नेपालको दशौँ साधारणसभाले नेपाल सरकारका पूर्वविशेष सचिव विजया केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित कार्य समितिको महासचिवमा दीपकबाबु अर्याल चयन हुनुभएको छ । दुईवर्षे कार्यकालका लागि यो कार्य समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अल्जाइमर्स रोगबारे हुँदै आएको एड्भोकेसीलाइ निरन्तरता दिँदै नेपालमा डिमिन्सिया प्लान अफ एक्सन निर्माणका लागि सरकारसँग सहकार्य गर्नेछ ।

अल्जाइमर डिजिज् इन्टरनेशनलको प्रतिनिधि संस्था ए आर डि एस नेपाल अल्जाइमर्स विस्मृति समाज नेपालले, नेपालमा काम गर्दै आएको छ । सन् २०१२ देखि निरन्तर अल्जाइमर रोगबारे प्रचारप्रसार तालिम लबिङ गर्दै आएको यो संस्थाको सस्थापक अध्यक्ष डा गौरी शङ्करलाल दास हुनुहुन्छ । आज सम्पन्न साधारणसभामा निवर्तमान अध्यक्ष डा निदेश सापकोटाले नवनिर्वाचित अध्यक्ष केसीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष विजया केसीले ज्येष्ठ नागरिकको हकअधिकार कागजमा भए पनि व्यवहारमा अझै हुन नसकेकाले खासगरी अल्जाइमर पीडितको हकअधिकारका लागि सरकारसँग आफूले सक्दो पहल गर्ने बताउनुभयो । लामो समयदेखि आफू पनि मेडिकल क्षेत्रमा कार्यरत रहेकाले यो रोगको संवेदनशिलतामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सभामा नवनिर्वाचित महासचिव दीपकबाबु अर्यालले मुलुकको डेमोग्राफिक स्थिति परिवर्तन भएकाले बढ्दो एजिङका लागि बेलैमा सरकारले प्लान अफ एक्सन बनाउनुपर्ने र छुट्टै ज्येष्ठ नागरिक हस्पिटल खोल्नुपर्नेमा सरकारसँग माग गर्नुभयो ।

उक्त हस्पिटल एकीकृत सेवासहित हुनुपर्ने र संविधानले प्रदत्त गरेको ज्येष्ठ नागरिकको अधिकार प्रत्यायोजन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालमा अल्जाइमरका पीडितको सङ्ख्या बढ्दै गएकाले सरकारले अल्जाइमर्स पीडितको सहज उपचार र औषधिको उपलब्धताका लागि पहल र केयरगिभर एवं नर्स उत्पादनका लागि पाठ्यक्रम विकास र तालिमको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस