पौष १६, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार फ्रेन्डस क्लब न्युरोड टिम (एनआरटी) सँग ३-२ अन्तरले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौं चरणको दोस्रो खेलमा एनआरटीको जितमा मेसुके ओलोमोउले दुई तथा स्टेफिन बिनोङले एक गोल गरेका हुन ।
फ्रेन्ड्सका जामोल फ्रांकोइस र नाथनियल गार्सियाले समान एक गोल गरे । पाँचौं मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नवीन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए । २०औं मिनेटमा मेसुके ओलोमोउले नवीनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए । खेलको ८१ मिनेटमा सकल रेग्मीको पासमा जामोउल फ्रान्कोइनले हेड गोल गर्दै अग्रता २-१ मा झारे ।
खेलको इन्जुरी समयमा मेसुकेले दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुले मिलाएको पासलाई मेसुकेले पेनाल्टी एरियाबाट सहज गोल गर्दै ३-१ को स्थिति ल्याए । इन्जुरी समयमा फ्रेन्ड्सले गोल फर्काए पनि बराबरको लागि पर्याप्त रहेन ।
सात खेलमा १० अंक जोडेको एनआरटी पाँचौं स्थानमा उक्लिएको छ । समान खेलमा मात्र तीन अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।
लिग अन्तर्गत शनिबार तीन खेल हुनेछ । पहिलो खेलमा जावलाखेल यूथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल यूथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पोखरामा मनाङ मर्स्याङ्दी क्लब र ब्रीगेड ब्वाइज भिड्नेछन् ।