• २०८१ चैत्र ३ गते सोमवार

सुस्त मनस्थिति कल्याण सङ्घमा नयाँ नेतृत्व

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक १४, काठमाडौं ।  राष्ट्रिय सुस्त मनस्थिति कल्याण सङ्घको २४औँ केन्द्रीयसभाले लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । काठमाडौँमा भएको केन्द्रीय सभापछि भएको बन्दसत्रमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रविन्द्र केसीले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मलकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र केसी, कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सहकोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यमा सम्झना श्रेष्ठ, विश्वनाथ ओझा, गोपालप्रसाद निरौला, सपना वादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारी रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष कायस्थले जिम्मेवारी सम्हाल्दै सुस्त मनस्थितिका नागरिकको कल्याणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । उहाँले आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने यो समूहको कल्याणका लागि गैरसरकारी पहलमात्र पर्याप्त नभएकाले राज्यलगायत सबै क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिनुुभयो ।

उहाँले दिवा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने, छात्रवृत्ति रकम बढाउनुपर्ने र विशेष भत्ताको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाइ थियो । जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्वअध्यक्ष मुक्तिनाथ अधिकारीले बौद्धिक अपाङ्गताको क्षेत्रमा थुप्रै सुधारका कार्यक्रम गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।

संस्थासँग उचित कार्यक्रम रहेको भए पनि दिगो आर्थिक स्रोतको जोहो हुन नसक्दा तिनको सञ्चालन गर्न कठिनाइ भएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा २०७६ सालमा नेपालमा एशियाली सुस्त मनस्थिति महासङ्घको २४औँ सम्मेलन सफलतापूर्वक आयोजना गरी सीमित स्रोत र साधनका बीचमा थालिएका बौद्धिक अपाङ्ग नागरिकको कल्याणका कार्यक्रमप्रति एशियाली राष्ट्रको ध्यानाकर्षण गर्न सफल भएको पनि पूर्वअध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो ।

त्यस कार्यकालमा सुस्तमनस्थिति भएका छात्रछात्रालाई विशेष शिक्षा तथा तालिमको अलावा कृषिमा आधारित पशुपालन कार्यक्रममा प्रोत्साहित गर्न थालिएको टेवा कार्यक्रमलाई एसियाली स्रोत केन्द्र जापानले काओरु स्टार राफ्ट अवार्ड प्रदान गरेको थियो ।

विसं २०४० मा स्थापित सुस्त मनस्थिति कल्याण सङ्घले देशका २६ जिल्लामा ३७ वटा विशेष विद्यालय, स्रोत केन्द्र, जनचेतना, सीप तथा आयमूलक व्यावसायिक कार्यक्रम, तालिम र पारिवारिक परामर्श केन्द्रमार्फत् झन्डै १० हजार ५०० जना बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सेवा पु¥याउँदै आएको छ ।

आयोडिनको कमी, अस्वस्थकर बच्चाको जन्म, कुपोषण, चोटपटक, अज्ञानता र गरिबीका कारण नेपालका सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) देखा परेको बताइन्छ । केन्द्रीयसभाले हाल भइरहेको जनगणनामा बौद्धिक अपाङ्गता भएका नागरिकको यथार्थ विवरण सङ्कलन गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ । केन्द्रीयसभाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा र बौद्धिक अपाङ्ग सिम्रिका लामाले संयुक्तरुपमा गर्नुभएको थियो ।

बौद्धिक अपाङ्गता भएका नागरिकको कल्याण गर्ने संस्थालाई सरकारले नै नियमित बजेट विनियोजन गरी सहयोग गर्न आवश्यक भएको बताउनुभयो । बौद्धिक अपाङ्गता भएका व्यक्तिले परिवारबाट पाउने पैतृक सम्पत्ति पनि ट्रष्ट बनाएर राखी तिनको कल्याणमा लगाउनु उचित हुने उहाँले बताउनुभयो ।

उनीहरूको अंश अन्य दाजुभाइबाट सुरक्षित गरी सम्बन्धित व्यक्तिले नै उपयोग र उपभोग गर्ने अवस्था सिर्जना गर्न पनि आवश्यक भएको पूर्वउपाध्यक्ष देवकोटाको भनाइ थियो । संस्थाको केन्द्रीयसभाले महासचिवको प्रतिवेदन र भावी कार्यक्रम पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस