कात्तिक १४, काठमाडौं । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्ता गठबन्धनमा फुट नआउने दावी गरेका छन् । आम निर्वाचन चाँडै आउँदै गरेको बताउँदै महतले गठबन्धन निर्वाचनसम्मै जारी रहने बताएका हुन् । ‘आम निर्वाचन चाँडै आउँदैछ, गठबन्धन जारी रहन्छ’, आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले भने, ‘मलाई लाग्दैन कि गठबन्धनमा टुट्छ ।
यसअघि सत्ता गठबन्धनकै एक घटना जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेससँग सहकार्य गर्न गाह्रो भएको बताएका थिए । तर, महतले विगतमा उपेन्द्र यादवले केपी ओलीसँग पनि सहकार्य गरेको उल्लेख गर्दै गठबन्धन चलाउन देउवासँग मिलेर नै सहज हुने धारणा राखे । अर्को प्रशंगमा डा. महतले एमसीसीको विषयमा अनावश्यक विरोध भएको बताए । ‘जसलाई एमसीसीको फुल फर्म थाहा छैन उसले विरोध गर्नु विडम्बना हो’, उनले भने, ‘ यो अनुदान सहयोग हो ।
योजना हामीले छनोट गरेको हो । यो चाहिँ अरू सहयोग भन्दा के फरक भयो । यो त सहयोग हो ऋण होइन नि । नचाहिँदो कुरा बहस र प्रचार भएको छ , सेना आएर टेक ओभर गर्छ भन्ने गलत भ्रम फैलाइएको छ ।
महतले अदालतमा हाल देखिएको विवादका विषयमा पनि आफ्नो धारणा राखे । न्यायालयभित्र भएको समस्या समाधान न्यायाधीश र प्रधानन्यायाधीश मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिँदै महतले छिटो निकास दिएर न्याय सम्पादन हुनुपर्ने धारणा राखे ।
प्रधानन्यायाधीशले संविधानको सीमा नाघेमा मात्र संसदको भूमिका आउने उल्लेख गर्दै उनले भने, ‘प्रधानन्यायाधीशले संविधानको सीमा नाघे संसद बोल्छ, अहिले यसरी संविधानको सीमा नाघ्यो भनेर आएको छैन । त्यसकारण त्यहाँ भएको समस्या त्यहीँ भित्रबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छौँ ।