साउन १६, काठमाडौं । नेकपा एमालेको विघटित कार्यदलका नेताहरूले १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर एकता प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको छ।
सिंहदरबारमा बसेको बैठकपछि नेता गोकर्ण बिष्टले भने, ‘एकता प्रक्रियालाई ढिलाई गर्दा झन् धेरै कुरा बिग्रने परिस्थिती बन्यो। त्यसैले अब १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग उठेका छन्। त्यही बिषयमा हामीले छलफल गरेका हौँ।’
अध्यक्ष केपी शर्मा ओलीले आज निर्णायक स्थायी कमिटीको बैठक बोलाएका छन्। यसअघि नै ओलीले आजसम्म एकताको सबै प्रक्रिया टुंगोमा पुर्याउने निर्देशन दिएका थिए।
छलफलमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरू सहभागी थिए।
कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति बनाएको थियो। तर, वरिष्ठ नेता माधवकुमार नेपालले उक्त सहमतिमा असन्तुष्टि जनाएपछि एमाले एकता अन्योलमा परेको छ।
तर, ओलीले नेता नेपाल समूहको मागअनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काइसकेका छन्। ओली र नेपालबीच सबै पावर सेयरिङको कुरा नमिलेपछि एकता हुन सकेको छैन।