• २०८२ जेष्ठ ७ गते मङ्गलवार

निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १४, भरतपुर । नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको हो ।

निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उहाँले घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । उहाँले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पार्नुभयो ।

एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पार्नुभयो । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताउनुभयो । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस