कात्तिक १३, काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीले १० औं महाधिवेशनबाट निर्वाचित हुने २१० केन्द्रीय सदस्यहरुको क्षेत्र निर्धारण गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचन क्षेत्र र संख्यालाई अन्तिम रुप दिएको हो ।
केन्द्रीय कमिटीमा खुला, भूगोल र समावेशीतर्फबाट तीन वटा निर्वाचित क्षेत्र हुनेछन् । राष्ट्रिय महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटीका १५ जना पदाधिकारी र २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २ सय १० जना केन्द्रीय सदस्यहरुमध्ये खुलातर्फ ९८ केन्द्रीय सदस्य निर्वाचित हुने छन् भने समावेशीतर्फ ६६ जना र भूगोलबाट ४६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । कानुनी व्यवस्थाअनुसार कुनै पनि दलले ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ ।
एमालेले भूगोलतर्फ प्रदेश, उपत्यका विशेष र सम्पर्क कमिटी भनेर तीनवटा समूहमा विभाजन गरेको छ । प्रत्येक प्रदेशबाट ४ जना खुला र २ महिला, सम्पर्क मञ्च तथा उपत्यका विशेषबाट एक एक खुला र महिला निर्वाचित भएका छन् । जसअनुसार प्रदेशबाट ४२ जना र उपत्यका तथा सम्पर्क मञ्चबाट ४ जना गरी ४६ केन्द्रीय सदस्य निर्वाचित हुन्छन् ।
समावेशीतर्फ ६६ जना निर्वाचित हुने व्यवस्था एमालेले गरेको छ । आदिवासी जनजाति क्षेत्रबाट २२ जना निर्वाचित हुनेछन् । जसमध्ये १५ जना खुला र ७ जना महिला हुनेछन् । त्यसैगरी मधेसीमा ११ खुला र ५ महिला गरी १६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । थारुतर्फ ४ खुला र २ महिला गरी ६ जना, दलिततर्फ ७ खुला र ३ महिला गरी १० जना निर्वाचित गर्ने व्यवस्था एमालेले गरेको छ । मुस्लिमतर्फ ४ केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् जसमा ३ खुला र १ महिला, श्रमिकबाट ३ खुला र २ महिला गरी ५ सदस्य निर्वाचित हुनेछन् । त्यसैगरी पिछडिएको क्षेत्रबाट २ खुला र १ महिला गरी ३ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
यसैगरि राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव १/१ जना निर्वाचित हुने व्यवस्था गरेको छ । त्यसैगरी ४ जना उपाध्यक्ष र ७ जना सचिवसमेत महाधिवेशनले निर्वाचित गर्ने छ । बैठकमा पदाधिकारीहरुको पनि समावेशिताको आधारमा निर्वाचित हुनुपर्ने माग उठे पनि सबै पदमा खुला रुपमा प्रतिस्पर्धा हुने छ ।
पदाधिकारी : १५ खुला
(अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उप महासचिव १-१ जना, उपाध्यक्ष ४ र सचिव ७ जना )
केन्द्रीय सदस्य : २ सय १०
खुला : ९८ जना (खुला ६५ र महिला ३३)
समावेशी : ६६ जना
आदिवासी जनजाति-२२ जना (१५ खुला र ७ महिला)
मधेसी- १६ (११ खुला र ५ महिला )
थारु-६ (४ खुला र २ महिला)
दलित-१० (७ खुला र ३ महिला)
मुस्लिम-४ (३ खुला र १ महिला)
श्रमिक- ५ (३ खुला र २ महिला)
पिछडिएको -क्षेत्र ३ (२ खुला र १ महिला)
भूगोल : ४६ जना
प्रत्येक प्रदेशबाट ६ जना (४ खुला र २ महिला)
सम्पर्क मञ्च (१ खुला र १ महिला)
उपत्यका (१ खुला र १ महिला )